
काठमाडौँ । सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ। भूकम्पको धक्का महसुस भएदेखि नै आफूहरुले वडास्तरबाटै जानकारी लिने प्रयासरत भने रहेको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए।
‘भूकम्पको केन्द्रबिन्दुर भएर होला। धक्का त ठूलै महसुस गरिएको थियो तर क्षतिबारे अहिलेसम्म जानकारी आएको छैन’, उनले भने, ‘राति भूकम्प गएर थाहा नभएको पनि हुन सक्छ। वडावडाबाटै जानकारी लिने काम भने भइरहेको छ।’
पालिकामा एक ठाउँ सुख्खा पहिरो झरेपनि बिहानै खुला गरिसकेको शेर्पाले जानकारी दिए। ‘त्यो पनि नयाँ पहिरो होइन, पुरानै हो। अलिअलि ढुंगा झरेको थियो’, उनले भने, ‘बिहानै सशस्त्रको टोलीले हटाइसक्यो।’
भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिका-१ का वडाध्यक्ष साङ्बु लामाले पनि हालसम्म क्षतिबारे जानकारी नआएको जानकारी दिए। ‘जानकारी लिने काम भइरहेको छ। खासै क्षति पुर्याएको देखिएन’, उनले भने ।
