
पोखरा, साउन २२ । पोखरामा केवलकार निर्माणका लागि विस्तृत अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मनकामना दर्शन चितवन को–इबिच भएको सम्झौता तत्काल बदर गर्न संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले निर्देशन गरेको छ । पोखरास्थित बुसन्धरा पार्कबाट पुम्दीभुम्दीको अनदुडाँडास्थित शान्ति स्तुपसम्म जोड्ने भनिएको केवलकार संचालन भए फेवातालको विविधतामा असर पर्ने भन्दै समितिमा सहभागी सभासदहरुले विरोध गरेपछि समितिले केवलकार निर्माण नगर्न सरकारलाई निर्देशन दिएको हो । समितिमा सभासदहरुले पोखरा बैदामदेखी करिब १२ सय ७० मिटर दुरीमा रहेको स्तुपासम्म केवलकार निर्माण गरिँदा रानीवन क्षेत्रमा हजारौं रुख कटान हुने, पहिरोका कारण फेवातालको क्षेत्रफल घट्ने तथा केवलकार निर्माणका लागी अनुमती पाएको मनकामना दर्शन चितवन कोई प्रालिले व्यवसायिक लाभमा बढी केन्द्रित भएको बताउदै तत्कालन रोकिनुपर्ने माग राखेका थिए ।
यसैबिच पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले केवलकार निर्माणको कार्य थालिए पनि संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई जानकारी नदिई सम्झौता गरिएको, सिमसार र वन क्षेत्र पनि परेकाले वन मन्त्रालयलाई पनि यस विषयमा नसमेटीएकोमा पनि सभासदहरुले आपत्ती जनाएका थिए । ’पर्यटन प्रवद्र्धनको काम भनिएपनि हाम्रो मन्त्रालयलाई अहिलेसम्म यस यसबारे जानकारी नै छैन,’ बैठकमा सहभागी पर्यटन सचिव सुरशेमान श्रेष्ठले भने । त्यसैगरी वन सचिव शंकर अधिकारीले पनि आफ्नो मन्त्रालयको संलग्नता नरहेको बताए । ’सिमसार क्षेत्रको शंरक्षण गर्नुपर्ने कानुन छ तर त्यहा सिमसार क्षेत्र मिचेर केवलकार स्थापना हुनलागेको छ । त्यस्तै रानीबन फडानी हुने छ,’ वन सचिव अधिकारीले भने । उनले समितिमा उक्त क्षेत्र केवलकार चलाउनै पर्ने ठाउ समेत नभएको धारणा राखेका थिए ।
समितिमा भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट सहसचिव विष्णु ओम बादेले केवलकार निर्माणको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । २०६८ कार्त्ितकमा योजना आयोगले केवलकारकालागी मनशायपत्र आव्हान गरे अनुरुप मनकामनासहित तीन वटा डेभलपरले प्रस्ताव पेश गरेका थिए । यीमध्येबाट फाइनासियल प्रस्तावका आधारमा मनकामनाको प्रस्ताव छनौटमा परेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७१ चैतमा लागत रकम लगायतका विषयमा विस्तृत अध्ययन गर्न मनकामनासँग डीपीआर सम्झौता गरेको थियो ।
