फोहोर गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना

258
0
Share:

काठमाडौँ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरले आइतबार साँझ पत्र काटेर जरिवाना तोकेको हो।

पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख गरिएको छ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरेको पत्रमा उल्लेख गरेको छ।

राप्रपाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा कार्यकर्ता उतारेको थियो। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट चार्टड विमानमा काठमाडौं आएका हुन्।

शाहवंशको कूलमन्दिरका रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका ज्ञानेन्द्र केही दिनदेखि पोखरामै रहेका थिए। ठाउँठाउँमा र्‍यालीका लागि निस्किएको भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको थियो। विमानस्थल वरपर भीड भएकाले सुरक्षा व्यवस्था कडा पारिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: