
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन्। उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४-२५ को लागि अनुबन्ध गरेको थियो ।
यहीबीचमा, उनको जीवनकथामा आधारित फिल्म ‘अन्जिला’ को मर्मस्पर्शी र सशक्त टिजर मंगलबार युट्युवमा सार्वजनिक भयो। फिल्मको शीर्ष भूमिकामा एन्जिला स्वयमले अभिनय गरेकी छन्।
दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा फिल्ममा चित्रण छ। जसको महत्वपूर्ण दृश्य टिजरमा समेटिएको छ। घाँसदाउरा गर्दै र परिवारको असहमतिबीच उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने संक्षिप्त दृश्य टिजरमा छ। नेपालमा खेलकुदलाई केन्द्रमा राखेर बनाइएका फिल्महरूको संख्या निकै कम भेटिन्छ।
विसं २०७५ सालमा अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ रिलिज भएको थियो। उक्त फिल्ममा अनमोलले एक सङ्घर्षशील फुटबल खेलाडीको भूमिका निभाएका थिए। व्यावसायिक हिसाबले निर्माण लागत उठाए पनि यो फिल्म सुपरहिट बन्न भने सकेको थिएन। यो फिल्मले सुरुमा राम्रो ओपनिङ गरे पनि हलमा लामो समयसम्म टिक्न सकेन।
नेपालमा यस विधामा बनेका फिल्महरू प्रायः व्यावसायिक रुपमा सफल हुन कठिन भएको देखिन्छन्। त्यसैले पनि नेपाली फिल्म इन्डस्ट्रीमा यो विधा अझै विकसित हुन सकेको देखिदैँन्।
‘अन्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म हो। यस फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय रहेको छ।
फिल्ममा सिर्जना सुब्बाले अन्जिलाको आमा अर्थात् ‘कौशिला’, माओत्से गुरुङले अन्जिलाको बुबा, दयाहाङ राई सौतेनी बुबा अर्थात् ‘चन्द्रे साहु’ र विजय बराल चन्द्रे साहुको साथीको भूमिकामा देखिएका छन्।
यस फिल्ममा अन्जिलालाई सानै देखि फुटबलमा रुचि भएको देख्न सकिन्छ। उनी बुबा बिना नै हुर्किएको पात्र हुन्। उनी दाइ र आमासँग बस्छिन्। उनकी आमा कौशला भने एक होटल सञ्चालक हुन्। उता उनको बुबा भने कान्छी श्रीमतीसँग झापामा बसेका हुन्छन्।
त्यसपछिको दृश्यमा अन्जिला दाइसँग फुटबलको जोहो गर्न सुन्तला टिप्ने काममा लागेको देखिन्छ। त्यस कामबाट आएको पैसाले उनीहरू मोजा किनेर फुटबल बनाउँछन्। अन्जिलाले अबेर रातसम्म पनि फुटबल खेल्यो भनेर घरमा धेरै पटक गाली खाएकी छन्। तर पनि फुटबल प्रतिको उनको रुचि कत्ति पनि कम भएको छैन।
फिल्ममा दयाहाङ राईले ‘चन्द्रे साहु’ अर्थात् एक जिप साहुको भुमिका निभाएका छन्। उनको आँखा अन्जिलाकी आमा ‘कौशिला’ अर्थात् सिर्जना सुब्बा माथि हुन्छ। चन्द्रे साहु घरमा श्रीमती र छोराछोरी हुदाँहुदैँ पनि कौशिलालाई विवाहका लागि फकाउन खोज्छन्। एकदिन फुटबल खेल्ने क्रममा अन्जिलाको खुट्टा मर्कँदा चन्द्रे साहुले नै उनलाई अस्पताल पुर्याउछन्।
त्यसरी छोरीलाई अस्पताल पुर्याउन अघि सरेका चन्द्रेलाई देखेर कौशिलाको मनमा पनि चन्द्रे साहूको लागि माया पलाउँछ। अस्पतालबाट फर्केपछि कौशिलाको पूर्व श्रीमान् (माओत्से गुरुङ) पनि फर्कन्छन्। त्यसपछि कथाले कस्तो मोड लिन्छ भन्ने थाहा पाउन यहाँहरूले फिल्म नै हेर्नुपर्ने हुन्छ।
मिलन चाम्सद्वारा निर्देशित ‘अन्जिला’ एक सरल कथानक भएको फिल्म हो। यस फिल्ममा घटनालाई वर्णन गर्न बिच-बिचमा दर्शकलाई ‘फ्ल्यास ब्याक’ मा पुर्याइएको छ। यो फिल्म हेर्न दर्शकले धेरै बौद्धिकता खर्चनु पर्दैन। अन्जिलाको जीवनमा आएका ‘टर्न एण्ड टुइस्ट’ हरू हामीले समाजमा देख्दै र भोग्दै आएको समस्याहरू भएकाले कथावस्तु सरल भए पनि फिल्मले दर्शकको मन छुनसक्ने देखिन्छ।
आफ्नो छोरीलाई फुटबल खेलाडी बनाउन अन्जिलाकी आमाले गरेको संघर्षलाई फिल्मको पहिलो हाफमा देखाइएको छ भने दोस्रो भागमा राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक बन्न एन्जिलाले गरेका संघर्षलाई देखाइएको छ।
सदा झैँ यस फिल्ममा पनि दयाहाङ राई, सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, र बुद्धि तामाङको जीवन्त अभिनय देख्न सकिन्छ। त्यस्तै फिल्मकी मुख्य पात्र एन्जिलाको अभिनय पनि विश्वसनीय नै लाग्छ। उनी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक भए पनि पर्दामा सुहाएकी छिन्।
फिल्मको छायांकन उनकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ। फिल्मको खिचाई सामान्य छ भने लोकेसन, फ्रेमिङ, लाइट, कलर, ब्याकग्राउन्ड स्कोर र मेकअप पनि राम्रो छ। तर फिल्ममा एउटा मात्र गीत छ, जुन गीतले पनि कथावस्तुलाई अगाडी बढाउन मद्दत गरेको छैन। फिल्म हेरिरहँदा दर्शकलाई सङ्गीतको अभाव महसुस हुन्छ।
निर्देशक चाम्सले हाम्रै समाजका पात्रहरूलाई टपक्क टिपेर फिल्म बनाएका छन्। जसकारण सबै पात्रहरूलाई उनले न्याय दिन सकेका छैनन्। जस्तो कि चन्द्रे साहुको जेठी श्रीमतीलाई चलचित्रमा भिलेनको रुपमा देखाएका छन्। जबकि उनी नैतिक रुपमा सही छिन्। तर चाम्सले अन्त्यमा त्यसलाई सच्याउन भने खोजेका देखिन्छन्।
समग्रमा भन्नुपर्दा एन्जिलाको जीवनको सतही कथामा यो फिल्म बनेको छ। उनको सङ्घर्षसँग मेलखाने दर्शकहरूलाई यो फिल्म उत्कृष्ट लाग्छ। तर टेक्निकल्ली फिल्म त्यत्ति कमजोर वा बलियो पनि छैन्।
यो फिल्म खेलप्रेमिहरूले मात्र नभएर बुबाआमाले गर्दा सपनालाई बिर्सने व्यक्तिहरूले हेर्नै पर्ने फिल्म हो। यस फिल्ममा एन्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा मात्र नभएर उनको आमाले त्याग र तपस्यालाई पनि देखाइएको छ।
यो संसार हाम्रो मैदान हो। हामी आफ्नो समस्याबाट भाग्नु हुदैँन्। कठिन परिस्थिति सबैको हुन्छ। तर जबसम्म हामी आफै लड्दैनौँ तबसम्म हाम्रो सहारा कोही हुँदैनन् भन्ने सन्देश एन्जिलाको जीवनीले दिएको छ।
गीत हेर्नुहोस् !
