
काठमाडौँ । सरकारले अबको ३० दिनभित्र सूचीकरण नगराएमा फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमाथि रोक लगाउने चेतावनी दिएको छ।
बिहीबार “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा एक सूचना” जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो अल्टिमेटम दिएको हो। हालसम्म भाइबर, टिकटक र विटोक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको उल्लेख छ।
अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जाललाई अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वः नियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न भन्दै मन्त्रालयले सचेत गराएको छ।
“तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ,” मन्त्रालयको सूचनामा भनिएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ।
साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वः नियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ।
