
पोखरा। चिसापानीमा शुक्रबार भएको नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ५२ जनाको सित्तैमा जाँच गरिएको छ। प्रगतिशील टोल विकास संस्थाको आयोजनामा भएको शिविरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल), युआरएल हेल्थ केयर र मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग थियो।
शिविरमा पोखरा महानगरको स्वास्थ्य महाशाखाले महिलाको पाठेघरको क्यान्सरसम्बन्धी जाँच सित्तैमा गरेको थियो भने मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले निशुल्क परामर्श सेवा दिएका थिए।
कार्यक्रममा युआरएलले मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिएको थियो। शिविरमा सहभागीहरुको दन्त परीक्षणसमेत गरिएको छ। यसका लागि युआरएल हेल्थ केयर प्रालिले सघाएको थियो।
कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदायकहरुले गाउँ, बस्तीमै सेवा र सचेतना उपलब्ध गराउँदा स्थानीयको पहुँच बढ्दै जाने उल्लेख गरे। उनले यस खालको दायित्व निर्वाह गर्न अरु स्वास्थ्य संस्थासमेत लाग्नुपर्ने उनको भनाइ छ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए।
उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरहरुमा सहभागिता जनाउँदै आएको बताए।
यो युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको १ सय ९० औं शिविर हो। सोही अवसरमा युआरएल र प्रगतिशील टोल विकास संस्थाबिच सेवामा छुट दिने सम्झौता भएको छ।
सम्झौतामा आगामी २ वर्षसम्म यो टोलका सदस्यले युआरएलका सेवामा ३० प्रतिशत र गण्डकी हेल्थ केयरका सेवामा विशेष छुट पाउनेछन्। प्रगतिशील टोलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सफल बराल, युवराज बराल लगायतले बोलेका थिए।
