पोखरामा चैत अन्तिम साता सामुदायिक विद्यालयस्तरीय भलिबल हुने

Share:

पोखरा। कास्की जिल्ला भित्र रहेका सामुदायिक विद्यालयहरुबिच पोखरामा चैतको अन्तिम साता छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको आयोजनामा अन्तर सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता बारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिर्जना विकास केन्द्रका अध्यक्ष विष्णु बरालले सामुदायिक विद्यालय स्तरमा हुने देशकै ठूलो प्रतियोगिताको रुपमा हुने दाबि गरे।

उनले नेपालमा सामुदायिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा यति ठूलो रकम भएको अहिलेसम्म नभेटिएको सुनाए। प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको छात्र तर्फको विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुने विद्यालयले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। छात्रातर्फको विजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट हुने छात्र/छात्रा दुवै तर्फका खेलाडीलाई समान पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने छ।

यस्तै अन्य विधागत उत्कृष्ट हुने खेलाडीलाई एक/एक थान भलिबल प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालन गर्न ११ लाख ४९ हजार रुपैयाँ खर्च तथा १२ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ।

प्रतियोगिताबाट बचत हुन आउने रकम भलिबल खेलकै विकासमा खर्च गर्ने अध्यक्ष बरालले जानकारी दिए। प्रतियोगितामा छात्र/छात्रा गरि कुल ५० टिमको सहभागिता हुने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: