
पोखरा । गण्डकी अटोमोबाइल्स संघको आयोजनामा पोखरा मोटर र्याली २०२५ भव्य रूपमा सम्पन्न भएको छ। र्याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजित गरिएको थियो।कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले गरेका थिए।
अटोमोवाइल क्षेत्रमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसनको गण्डकी प्रदेश संघ गण्डकी अटोमोबाइल्स संघको आयोजनामा भएको रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनले भरिएको यो मोटर र्यालीमा ७३ जना प्रतिस्पर्धीले नाम दर्ता गराएका थिए। जसमा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएका थिए।
प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभित मान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरे। त्यस्तै, दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने, सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे। रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने, शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे।
यस मोटर र्यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्शल तथा ट्रेनिङ्ग कमिसनबाट प्रशिक्षित मार्शलहरूले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए। प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै मोटरस्पोट्र्सका प्रतिभाहरूलाई उजागर गर्ने अवसर प्रदान गरेको जनाइएको छ।
यस र्यालीको उद्देश्य साहसिक खेलकुद, ड्राइभ टुरिजम र महिला सशक्तिकरण रहेको कुरा गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।


