
रञ्जन अधिकारी पोखरा, ३१ साउन / गण्डकी धौलागिरीका नागरिक आईतबार दोहोरो बन्दको मारमा परे । मोहन वैद्य नेतृत्वको माओवादी, संघीय समाजवादी फोरम लगायतका दलहरुले गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित हुँदा हिन्दूराष्ट्र संरक्षण अभियानले आयोजना गरेको गण्डकी धौलागिरी क्षेत्र बन्दले पनि यहाँका जनता दोहोरो बन्दको मारमा परेका हुन् ।
नेकपा माओवादी, संघीय समाजवादी फोरम लगायतले ६ प्रदेशको सिमांकन तथा प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै दुई दिने बन्द आह्वान गरेको हो भने हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन हिन्दूराष्ट्र संरक्षण अभियानले बन्द आयोजना गरेको हो ।
दुई थरीका बन्दकर्ताको कारण पोखरा क्षेत्रको जनजीवन पनि बिहानैदेखि साँझ ५ बजेसम्म प्रभावित बन्यो । बन्दको कारण पोखराबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालनमा आउन सकेनन् । नगर क्षेत्रमा कुनैपनि सवारी चलेनन् भने सिद्धार्थ राजमार्ग, पृथ्बी राजमार्ग र भूपि शेरचन राजमार्गमा पनि सवारी चल्न सकेनन् । बन्दको कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्था सबै ठप्प रह्यो ।
दुबै तर्फका बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्केर बन्द गराउँदै हिँडेका थिए । अत्यन्त न्युन संख्यामा बन्दकर्ताहरु सडकमा ओर्लिएपनि त्रासका कारण सवारी चल्न नसकेको हो । चोकचोकमा केहि संख्यामा उपस्थित उनीहरु एकातर्फ हिन्दुवादी र अर्कोतर्फ संघीय समाजवादी तथा माओवादी कार्यकर्ताहरु बसेका देखिन्थे । हिन्दूराष्ट्र संरक्षण अभियानका कार्यकर्ता र संघिय समाजवादीका कार्यकर्ताबीच केहिबेर महेन्द्रपुलमा बिवाद समेत भएको थियो । प्रहरीले दुबै तर्फका बन्दकर्तालाई हटाएपछि स्थिति सामान्य भएको थियो ।
बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दुध तथा तरकारी बोक्ने गाडिलाई छुट दिएका थिए । बन्दको क्रममा हुने संभाबित घटनालाई ध्यान दिँदै सुरक्षा ब्यबस्था पनि कडा पारिएको कास्की प्रहरीले जनाएको थियो । चोकचोकमा प्रहरी तैनाथ थिए । बिहान पोखराबाट छुट्ने पर्यटक बसलाई प्रहरीले स्कटिङ गरि छुटाएको थियो ।
यसैबीच, बन्द गराउदै हिँड्ने तीन जनालाई प्रहरीले बिहानै नियन्त्रणमा लियो । पृथ्वीचोकमा बन्द गराउँदै हिँडेका हिन्दूराष्ट्र संरक्षण अभियानका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, प्रहरीले मर्निङ वाकमा हिँडेका प्रौढ व्यक्तिलाई आन्दोलनकारी भन्दै लछारपछार पारी प्रहरी गाडीमा गलहत्याएर लगेपछि व्यापक विरोध भएको छ । प्रहरीको दुव्र्यवहारमा परेका रमेश पालले प्रहरीले कुरै नबुझी भ्यानमा लछारपछार पारेर लगेको बताएका छन् । ठूलो जिउडाल, छाता बोकेर पृथ्वीचोक क्षेत्रमा हिँडेका पाललाई प्रहरीले सिधै हुत्याएर गाडीमा पु¥याएको र कुरै नसुनी झ्याईंकुटी बनाएर गाडीमा फालेर लगेको गुनासो गरेका छन् ।
Photo: Bijay Chhetri (Jeetu)
