
काठमाडौँ । उद्योगीहरूले फेरि सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँ बढाएका छन्। दुई दिनदेखि सिमेन्टको मूल्य ४० रुपैयाँ बढीले मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपीसी र पीपीसी दुवै किसिमका सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढेको जानकारी दिए।
‘ओपीसी र पीपीसी दुवै सिमेन्टको मूल्य थप ४० रुपैयाँ बढेको छ। अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य ६३० देखि ८०० रुपैयाँसम्म पुगेको छ ,’ उनले भने,‘पीपीसी सिमेन्ट ५९० देखि ६५० सम्म पुगेको छ।’ दुईदिनअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ थियो । मूल्य ५५० देखि ६०० रुपैयाँसम्म थियो।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य बढाएको स्वीकार गरेका छन्। उनले लोडसेडिङ बढेको कारण मूल्य बढाएको बताए। ‘विद्युत कटौतीको कारणले मूल्य बढाइएको हो। १२ घण्टा लोडसेडिङ हुँदा ठूलो नोक्सानी भएको छ,’ अध्यक्ष मारुले भने।
अहिले बजारमा निर्माण सामग्री सिमेन्ट,फलामे छड र फलामे जालीको मूल्य बढेको बढ्यै छ । मूल्य नियन्त्रण गर्न पछिल्लो समय सरकारले पहल थालेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट, फलामे छड (डन्डी) लगायत निर्माण सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राखेर बिक्री वितरण गर्न निर्देशन दिएको छ।
