प्रहरी ‘इन्काउन्टर’ मा गुण्डा नाइके कुमार घैंटे मारिए ! को हुन् घैटे ?

Share:

काठमाडौं, ३ भदौ / काठमाडौंको सामाखुसीस्थित कपुर धारामा प्रहरीले गरेको ‘इन्काउन्टर’ मा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएका छन् । बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा प्रहरीसँगको मुठभेडमा परेका घैटेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले घैटेलाई मृत अवस्थामा ल्याइपुर्याइएको बताए ।उनको छाति र तिघ्रामा गोली लागेको थियो । छातिमा ८ वटा गोली लागेको थियो।

पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले नियमित गस्तीमा रहेको प्रहरीमाथि घैंटे समूहले गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको जानकारी दिए । ‘पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएका थिए’, खनालले भने, ‘गोली लागेपछि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएका उनको उपचारकै क्रममा ज्यान गएको जानकारी अस्पतालबाट आएको छ ।’

प्रहरीको गोली लागि घैंटेको समूहका थप दुई जना घाइते भएका छन् । राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ। अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। २०६२ सालमा सर्वेन्द्र खनाल तत्कालीन केरकारका शाखाका डीएसपी हुँदा घैटेले खनालको बाघबजारमा गाडीमाथि तोडफोड गरेका थिए ।

डन दिनेश अधिकारी ‘चरी’ मारिएपछि घैंटे भारत मलेसिया र सिंगापुरमा लुकेर बस्दै आएका थिए । भूकम्पपछि उनी नेपाल फर्किएका हुन् । नेपाली कांग्रेसका नेताहरुसँग निकट मानिएका उनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलनमा समेत जुटेका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाई राहत हस्तान्तरणसमेत गरेका थिए। केही अघिमात्र उनले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई सहयोग गर्न सामाखुसी युथ क्लबमा कार्यक्रम आयोजना गरेका थिए। जसको प्रमुख अतिथि शिक्षामन्त्री चित्रलेखा यादव सहभागी थिए।

नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टिएर आफ्नै समूह चलाएका थिए। हालै प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी कुनै समय उनकै समूहका सदस्य थिए। चरीले पछि पार्टी परिर्वतन गरी एमालेतिर लागेपछि उनको समूहबाट छुट्टिएका थिए।

नेपाली काँग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका उनलाई प्रहरीले ट्रयाकर दिएर उनको गतिविधि अनुगमन गरे पनि काग्रेस नुवाकोटका नेताको दवावमा उनलाई ट्रयाकरमुक्त गरिएको थियो। विशेषत काग्रेस नेता अर्जुननरसिंह केसी र उनको भाई जगदिश नरसिंह केसीसँग घैटेको नाम जोडिने गरेको छ। घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो। कपाल पालेका घैटेले कालो रंगको टिशर्ट लगाएका थिए । घैटेको श्रीमती र छोरी छन् । कांग्रेस नेता जगदीशनरसिंह घैटेको स्थिति बुझ्न अस्पताल पुगेका थिए । उनको शवलाई पोष्टमार्टम यूनिटमा लगिएको छ ।

गृहमन्त्रीविरुद्ध नाराबाजी

शिक्षण अस्पतालको इमर्जेन्सी अगाडि घैटेका शुभचिन्तकले नाराबाजी गरेका छन् । उनीहरुले गृहमन्त्रीविरुद्ध नारा लगाइरहेका छन् । घैटेलाई प्रहरीले नियोजितरुपमा मारेको उनीहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्
Share: