पोखरामा एमालेको जागरण अभियानः मोटरसाइकल र्‍याली गर्ने

Share:

पोखरा । नेकपा एमाले कास्कीले आगामी चैत १८ गते पोखरामा जागरण अभियान सञ्चालन गर्ने भएको छ। एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार यस र्‍यालीमा कम्तीमा २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ।

‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ,’ सचिव लामाले भने। र्‍याली गर्दै पोखराका विभिन्न स्थानमा पुग्ने सचिव लामाले जानकारी दिए।

प्रर्दशनी केन्द्र, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा, राष्ट्रबैंक चोक, सहीदचोक, लेकसाइड, हल्लनचोक, जिरी किलोमिटर, सृजनाचोक, सभागृहचोक, चिप्लेटुंगा, सिद्धार्थचोक, भैरबटोल, विन्दवासिनी, ट्याक्सीचोक, पिएन गेट, नदिपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंह चोकलगायतका स्थानमा र्‍याली परिक्रमा गर्नेछ। एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ।

‘पछिल्ला राजनीतिक भ्रम चिर्दै, जनतामाझ हाम्रो एजेन्डा स्पष्ट बनाउने र पार्टीको संगठनात्मक संरचना बलियो बनाउने लक्ष्य लिएका छौं,’ सचिव लामाले भने।

यस अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय संगठनहरू, युवा संघ, विद्यार्थी संघ, सम्पर्क कमिटीहरूलाई विशेष जिम्मेवारी तोकिएको छ।

विशाल र्‍यालीका कारण पोखराको सडक व्यवस्थापनलाई प्रभावित हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्ने योजना रहेको एमाले कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: