एकैदिनमा सुनको भाऊ आकाशियो, १४ सय बृद्धी

Share:

काठमाडौ, ४ भदौ / साताको अन्तिम दिन आज शुक्रबार सुनको भाऊ आकाशिएको छ । केही महिनादेखी घट्दो क्रममा रहेर बिस्तारै उकालो लागेको सुनको मूल्य आज एक्कासी प्रतितोला १ हजार ४ सयले बढेको छ ।

बिहिबार छापावाल सुन प्रतितोला ५० हजार २ सय रहेकोमा आज शुक्रबार १४ सयले बढेर ५१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन पनि प्रतितोला १४ सयले बढेर ५१ हजार ३ सय ५० मा कारोबार भइरहेको महासंघको भनाई छ । बिहिबारको तुलनामा शुक्रबार प्रतितोला रु. १० ले बढेर चाँदी पनि प्रतितोला रु. ७ सय १५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार एकैदिन सुन प्रतिऔँस २७ डलर बढेपछि सुनको मूल्य एक्कासी आकाशिएको हो । बिहिबार प्रतिऔँस १ हजार १ सय ३८ डलर रहेको सुन शुक्रबार १ हजार १ सय ६५ पुगेपछि सुनको मूल्य उकालो लागेको हो ।

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैकले निक्षेपको ब्याजदर बृद्धी गर्ने संकेत पाएपछि अन्तराष्ट्रिय लगानीकर्ताहरूले सुनमा लगानी गर्न छाडेर शेयरमा लगानी गर्न थालेपछि सुनको मूल्य घटेको थियो तर, बैंकले निक्षेपमा ब्याजदर नबढाउने संकेत पाएपछि लगानीकर्ताहरूले सुनमा नै लगानी गर्न थालेपछि सुनको मूल्य पुनः बढ्न थालेको हो ।

सुन उत्पादन गर्ने मध्येको देश चिनको मुद्रा युआनको डलर विनिमय दर कमजोर हुनु पनि सुनको भाऊ बढ्नुको कारण रहेको अन्तरराष्ट्रिय विश्लेषकहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: