
पोखरा। पोखरा महानगरपालिका-३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ। कक्षा ६ देखि १० सम्म नि:शुल्क आवास र भोजनको व्यवस्था गर्दै आएको विद्यालयमा हाल देशका विभिन्न जिल्लाबाट आएका २९ विद्यार्थी छन्।
गुणस्तरीय शिक्षामा जोड दिँदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाचार्य प्रकाश उपाध्याय (रेग्मी) ले बताए।
विद्यालयले निशुल्क आवाश एवम् भोजनको व्यवस्थासहित विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको छ। विद्यालयले साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत संस्कृतभाषा सम्भाषण, वक्तृत्कला, हाजिरीजवाफ, प्रवचन, वादविवाद, कविता, खेलकुद आदि सञ्चालन गरेको छ भने योगाभ्यास, संगीत शिक्षा आदि सञ्चालन गरिरहेको छ।
वार्षिक रुपमा शैक्षिक अवलोकन भ्रमण, वनभोज जस्ता विभिन्न क्रियाकलापका साथै अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थासमेत गरिएको छ। विद्यालयमा नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, गीत कम्प्युटर आदि विषय पठपाठन हुन्छ। विद्यालयले यस शैक्षिक वर्षका लागि पनि सीमित सिटका लागि कक्षा ६, ७, ८ र ९ मा आवेदन फारम आह्वान गरेको सहायक प्रधानाचार्य प्रविण पौडेलले जानकारी दिए।
आगामी फागुन ८ गतेसम्म फाराम आह्वान गरिएको र प्राप्त आवेदन अनुसार वैशाख ९ गते प्रवेश परीक्षा गरिने उनको भनाइ छ। निम्बार्क सम्प्रदाय विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको छ। मन्दिर स्थापनाको पाँच दशकपछि २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो।
शुक्लागण्डकीको पावन तट पोखरा र मुक्तिनाथको प्रवेशद्वार गगन, च्यवन आदि ऋषिहरूको तपस्थलिमा रहेको यस विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ। संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर क्रियाशील रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले सुनाए।
