
पोखरा। गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त भएका दीपक भण्डारीले चैत १७ गते राजीनामा दिएका हुन्।
तिम्सिना गत असार २१ गते र त्यसको १ महिनापछि भण्डारी नियुक्त भएका थिए। सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले सत्ताको साँचो दरिलो पार्न तत्कालीन समयमा समाजवादीबाट तिम्सिनालाई नियुक्त गरेका थिए।
केन्द्रीय राजनीतिमा आएको फेरबदलपछि पनि मुख्यमन्त्री पाण्डेले प्रदेशलाई एमालेलाई त्यतिसारो वास्ता नगरी राप्रपाका दीपक भण्डारीलाई योजना आयोगमा ल्याएका थिए। एमालेले त्यतिबेलै मन अमिल्याए पनि बाहिर भने केही व्यक्त गरेको थिए।
अहिले प्रदेशको विश्वविद्यालय र अन्य निकायहरुमा धमाधम नियुक्तिका बेला सत्ता साझेदार एमालेको दबाबमा मुख्यमन्त्रीले योजना आयोगका सदस्य फेर्न लागेका हुन्। सरकारले बाहिरिन संकेत गरेपछि दुवै सदस्यले एकैदिन राजीनामा बुझाएका हुन्।
अब रिक्त ती २ पदमा कांग्रेस एमालेले भागबन्डा गर्नेछन्। महिला सदस्य कांग्रेसका भागमा परेको छ भने अर्को एक सदस्य एमालेको भागमा परेको छ। आयोगमा कम्तीमा १ जना महिला सदस्य अनिवार्य रहनेगरी गठनादेश बनाइएको छ।
एमालेले सदस्यमा नियुक्त गर्ने नाम टुंग्याइसके पनि कांग्रेसबाट भने टुंगिन बाँकी छ। उपाध्यक्षमा मुख्यमन्त्री पाण्डेले गत जेठ १७ गते नै गोरखाका डा कृष्णचन्द्र देवकोटालाई दोहोर्याएका हुन्।
