
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन्।
उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ। लामिछानेले गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी छ । उनलाई भोलि मात्रै भैरहवा लगिनेछ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।
उच्चले जिल्लाको आदेश बदर गरेर उनलाई थुनामै राख्ने आदेश गरेको छ। आइतबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए।
