
रञ्जन अधिकारी पोखरा, ५ भदौ / अन्तर समाज महासंघ राष्ट्रिय समितिको पाँचौ साधारणसभा पोखरामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्तै अभिभावकीय भूमिकालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
विकास निर्माणमा समाजका अगुवाहरुको भूमिका प्रभावकारी हुने भन्दै उनले विपद्का समयमा विभिन्न समाजहरुले गरेको कामको प्रशंसा गरे । उनले जिल्लाबासीलाई एकीकृत गर्दै समाजमा आबद्ध गराएर दुःखमा एकअर्कोलाई सहयोग गर्दै आएको र यसको छाता संस्थाका रुपमा दायित्व निर्वाह गरेकोमा समाजप्रति आभार व्यक्त गरे ।
समाजका सल्लाहकार एवं पत्रकार नारायण कार्कीले अझै एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै समाजलाई योगदान पुग्ने कामहरु गर्न सुझाव दिए । उनले भुकम्पका बेला समाजले गरेको कामको प्रशंसा गरे ।
निवर्तमान अध्यक्ष निलकण्ठ शर्माले आबद्ध समाजहरुको पथप्रदर्शक बनेर काम गर्नुपर्ने बताए । गोरखा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्रीले छाता संस्थाको भूमिका अझै प्रभावकारी हुनुपर्ने र समाजका गतिविधिसँग निकट रहेर अघि बढ्न सुझाव दिए ।
समाजका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको साधारणसभामा सचिव निर्मल सापकोटाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नारायणप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीप्रसाद बुढामगरले सहभागीलाई स्वागत गरे ।
सो अवसरमासमाजमा आवद्ध सदस्यका प्रवेशिका परीक्षा उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो भने समाज अन्तर्गतका विभिन्न २० समाजलाई आबद्धताको प्रमाणपत्र वितरण गरियो ।
