
५ भदौ, काठमाडौं । प्याज काट्दा आँशु आउनु स्वाभाविकै हो । तर, नेपालमा प्याजको मूल्य सुन्दैमा उपभोक्ताका आँखा रसाउने स्थिति बनेको छ । निरन्तर उकालो लागिरहेको प्याजको खुद्रा मूल्य शनिबार कालिमाटी तरकारी बजारमै प्रतिकिलो १ सय १५ रुपैयाँ पुगेको छ । कालीमाटीमै प्याजको थोक मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा एक हप्तायतामात्रै प्याजको मूल्य प्रतिकिलो ३० रुपैयाँ बढिसकेको छ । एक हप्ताअघि थोक मूल्य ७५ रुपैयाँमा बिक्री भइरहेको प्याज शनिबार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको कालीमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।
खुद्रा बजारमा १३० पुग्यो
कालीमाटी तरकारी बजारमा प्याजको खुद्रा मुल्य १ सय १५ रुपैयाँ प्रतिकेजी पुगेपछि राजधानीका अधिकांश खुद्रा तरकारी बजार र पसलहरुमा प्याजको मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजीको हाराहारीमा बिक्री भइरहेको छ ।
खुद्रा तरकारी व्यवसायीले थोक मूल्यमा पनि मनपरी ढङ्गले मूल्य बढाएर बिक्री गर्दा उपभोक्ता झनै मारमा परेका छन् । नयाँबानेश्वरका खुद्रा ब्यापारी ईश्वर अधिकारी समान्यतया प्रतिकेजी ३५/४० रुपैयाँ हुनुपर्ने प्याजको मूल्य तीन गुणा बढेर यो स्थितिमा आइपुगेको बताउँछन् । निरन्तर मूल्य बढिरहेकाले प्याजको मूल्य यसवर्ष सबैभन्दा उच्च बिन्दुमा पुग्ने ब्यापारीहरुको अनुमान छ । साउन महिना सुरु भएदेखि नै प्याजको मूल्य निरन्तर बढिरहेको छ । असारको अन्त्यतिर प्रतिकिलो औसतमा ४० रुपैयाँमा प्याजको कारोबार भइरहेको थियो ।
किन बढ्यो प्याजको भाऊ
प्याजको मूल्य बढ्नु नेपालको भारतीय परनिर्भरता नै मुख्यकारण हो । नेपालमा प्याजकोे मागअनुसार उत्पादन हुन सकेको छैन । वर्षाको सिजनका कारणले पनि नेपाली बजारमा प्याजको अभाव भएको हो ।
यसबीचमा भारतीय बजारमा नै प्याजको मुल्य आकाशिएपछि त्यसको असर नेपाली बजारमा परेको हो । भारतीय बजारमा शनिबार प्याजको मूल्य प्रतिकेजी भारतीय रुपैयाँ ५० अर्थात नेपाली रुपैयाँ ८० सम्म छ ।
Onlinekhabar.com
