सबै समस्याहरु एकैपटक समाधान हुदैँन्: मन्त्री केसी

Share:

पोखरा। कास्कीको सुन्दर गाउँ ल्वाङ अहिले उत्सवमय छ। पोखराबाट पौने घण्टाको सडक यात्रामै पुगिने यो गाउँको थाप्लोमा रहेको चियाबारी र होमस्टेले धेरै पर्यटक लोभ्याउने गरेका छन्।ल्वाङगाउँलाई प्रवर्धन गर्न यतिबेला मेला सञ्चालनमा छ। माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको ल्वाङमा ग्रिनहिल युवा क्लबले ३१ औं चैते दसैं मेला आयोजना गरेको हो।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मेला उद्घाटन गरे। उनले अहिले राजनीति र राजनीतिक नेतृत्वप्रति नकारात्मक भाव फैलाउन खोजिएको दाबी गर्दै युवाले यथार्थ बोध गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो अपेक्षा, हाम्रा सीमित स्रोत, साधनभन्दा बढी छन्। सबै समस्या एकैपटक समाधान हुन सम्भव पनि हुँदैन।’ मन्त्री केसीले मेलाले कला, संस्कृति जगेर्ना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनसमेत सघाउने उल्लेख गरे।

मिलनचोकदेखि लुम्रे सडकको करिब ६.५ किलोमिटर कालोपत्र भएको र बाँकी तीन किमी कालोपत्रे नहुँदा ल्वाङ जाने यात्रुले जोखिम झेल्नुपर्ने अवस्था छ। धम्पुस हुँदै ल्वाङ बाटो निर्माणअघि बढी सकेको छ।

कार्यक्रममा ल्वाङ सेवा समिति अध्यक्ष हितकाजी गुरुङले गाउँसम्मको सडक सहज बनाउन सबै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

मेलामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सहितका विभिन्न गतिविधि जारी छन्। पुरुष भलिबलतर्फको विजेताटीमलाई १ लाख १० हजार र उपविजेता टीमलाई ६० हजार र तृतीय टीमलाई २० हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र दिइने क्लबका अध्यक्ष सुजन गुरुङले बताए।

सान्त्वना स्थान हाँसिल गर्ने टीमले १० हजार पाउनेछ। महिलातर्फ प्रथम हुने टीमलाई नगद २० हजार, द्वितीयलाई १० हजारसहित सिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ।

मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्याति प्राप्त लोक तथा दोहोरी कलाकारका प्रस्तुतिसमेत हुने छन्। यहाँको होमस्टेमा दिनमा पाँच सय पाहुना राख्न सक्ने क्षमता छ।

सामुदायिक होमस्टे ल्वाङकी अध्यक्ष सुमित्रा गुरुङ अहिले २६ घरमा होमस्टे रहेको सुनाउँछिन्। ल्वाङका होमस्टेमा स्वदेशीसँगै विदेशी पर्यटक पनि पुग्ने गरेका छन्। गत वर्ष ल्वाङमा ४ सय ६३ विदेशी बसेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय ल्वाङको रेकर्ड छ। यहाँको चियाबारी र हिमालको सुन्दर दृश्यले पाहुनालाई तान्ने गरेका छन्।

यात्रु तथा पर्यटकहरुको सधै जोखिमपूर्ण यात्रालाई सुरक्षित यात्रा बनाउन र ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार सधैँ तत्पर रेहेको मन्त्री केसीले बताए। प्रदेश सरकारले निर्माण सम्पन्न गरेको भांङखोला ल्वाङ सडक गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री केसीले उद्घाटन गरे।

पोखराबाट करिब २४ किमिको छोटो दुरीमा अवस्थित पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ नेपालको धेरै आन्तरिक साथै वाहिय पर्यटकहरुको गन्तब्यको रुपमा चिनिन्छ।

हेम्जा मिलनचोकदेखि लुम्रे सडकको करिब ६.५ किमि सडक कालो पत्रे भएको तर करिब ३ किमि सडक कच्ची रहेको र करिब १.५ किमि सडक अत्यन्त जोखिमपूर्ण भएको कारण सवारी साधनहरुमा यात्रुहरु सधै जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको मन्त्री केसीले बताए।

कमेन्ट गर्नुहोस्
Share: