कृषिको उत्सव आलु महोत्सव: शनिबारसम्म २१ लाख बढीको आलु कारोबार, ६० हजार दर्शकले गरे अवलोकन

Share:

पोखरा । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ। यतिबेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ। महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ।

 

महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने गरेको छ। वशेष गरी दर्शकको रोजाई कृषि स्टलहरुमा बढी देख्न सकिन्छ। त्यहाँ ३० वटा स्टल कृषिका लागि छुट्टाइएको छ। ती स्टललाई निःशुल्क राख्ने व्यवस्था समेत आयोजक विष्णुपादुका क्लवले मिलाइएको छ।

जसमार्फत स्टलका सञ्चालकहरुलाई हौसला समेत मिलेको छ र ती स्टलबाट राम्रै कारोबार समेत भइरहेको छ। आलु महोत्सव वास्तवमै कृषि महोत्सव नै भएको पोखरा-१६, बाटुलेचौरस्थित स्मृति एकीकृत कृषि सेवा केन्द्रकी प्रोप्राइटर जमुना थापाले बताइन्।

उनले भनिन्, ‘महोत्सव भनेपछि उसो त अलिअलि गीतसंगीतका कुरा त जोडिन्छन्। तर यहाँ कृषिलाई महत्व दिइएको पाइयो। रमाइलो छ।’

उनले महका सकारात्मक पक्ष धेरै रहेको बताउँदै औषधीय गुण पनि हुने उल्लेख गर्दै यी यावत कुरा महोत्सवमार्फत धेरै मानिस समक्ष पुर्‍याउन पाएको सुनाइन्।

थापा जस्तै त्यहाँ विभिन्न संघ संस्था एवम् व्यक्तिहरुले कृषि स्टल संचालन गरिरहेका छन्। जसमार्फत कृषि उपजको दैनिक कारोबार बढिरहेको छ, भने कृषि प्रविधि हस्तान्तरणमा पनि सघाउ पुगेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिम्सिनाले जानकारी दिए।

शनिबारसम्म करिब ६० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले बताए।

जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। शनिबार साँझसम्म गरी हालसम्म कुल २१ लाख बढीको आलु कारोबार भएको छ, भने प्रतिकेजी रु.४२ मा आलु विक्री गरिएको छ।

महोत्सव अन्तर्गत शनिबार कलाकारहरु सम्झना लामिछाने मगर, राजन कार्की, कृष्ण अखेली, सुरेशरमण अधिकारी, पार्वती गुरुङ, टेक क्षत्री, पुजा तामाङ, हास्य कलाकार राजेन्द्र गिरी(गुन्दुके), पप कन्सर्टतर्फ गगन गुरुङ, नविना सिलवाल(खुइली) तथा लक्ष व्याण्डका प्रस्तुतिहरु रहे ।

त्यस्तै आइतबार वसन्त थापा, कृष्ण अखेली, कृष्ण गुरुङ, प्रेमराज अधिकारी, नेत्र खड्का, शिव पौडेल, लक्ष्मी बानियाँ, राजेश वर्देवा, रोशन र्‍यापर र अनिल शाहीका प्रस्तुतिहरु रहने आयोजक विष्णुपादुका क्लवले जनाइएको छ ।त्यस्तै महोत्सवमा रत्यौली गीत प्रतियोगिता पनि जारी छ।

यही चैत २४ बाट सुरु आलु महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ। समापनको दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: