केपी ओली कप : हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

Share:

पोखरा । हिमाल फ्रेन्ड्स क्रिकेट क्लब पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। पोखरा क्रिकेट मैदानमा आइतबार मधेश प्रदेश क्रिकेट क्लबलाई ३ रनले हराएर हिमाल फ्रेन्ड्स समूह ‘सी’बाट सेमिफाइनल प्रवेश गरेको हो।

डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिको आधारमा ३ रनले हिमाल फ्रेन्ड्स विजयी भएको हो । ११ ओभरको खेल सकिँदा मधेश ४ विकेटको क्षतिमा ६४ रन बनाएको थियो। वर्षाका कारण खेल रोकिएपछि डीएलएस पद्धतिअनुसार हिमाल फ्रेन्ड्स ३ रनले विजयी भयो।

खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले सर्वाधिक ३० रन बनाएका थिए। उनले २७ बलमा ४ चौका प्रहार गरे। रवि सिंहले १८ रन बनाए। उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे। एक्युब अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए। विशाल सुस्लिङ ३ र दिपेश दास १ रनमा नटआउट रहे।

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो। आयुव चन्दले सर्वाधिक ३६ रन बनाए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अभिनाश सिंहले १६ रनको योगदान दिए।

अरुण दानी १५ रनमा नटआउट रहे। सञ्जय बोहोराले २२ रन जोडे। उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर सुबोध ऐरी ८, सन्दीप भण्डारी ५, मनसुन सिंह ३, सुनम बुढाथोकी, दीपक रोकाया र अभिनाष बस्याल शून्य रनमा आउट भए। मधेशका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। रूपेश सिंह र प्रदीप पासवानले समान २-२ विकेट लिए।

समूह ‘सी’ को अर्को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हरायो। १ सय २ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनायो। तुलबहादुर थापाले सर्वाधिक २८ रनमा अविजित रहे । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

सन्दीप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे। ओपनर देव खनाल २ रनमै आउट भए। रञ्जित खत्रीले २१, मोहम्मद हुसेनले ८, निश्चल चौधरीले ७ र प्रज्वल थापा ६ रनमा आउट भए। कर्णालीका लागि नरेन्द्र सञ्जाल र सुवास भण्डारीले २-२, कृष्ण कार्कीले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १ रन बनायो। कर्णालीका लागि सुवास भण्डारीले २६ रनको योगदान दिए। उनले २२ बलमा ५ चौका प्रहार गरे। सौरभ सकर्मीले २३ रन बनाए। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

विपीन शाहीले १९, कृष्ण कार्कीले १३, हिमांशु शाहीले ८ रनको योगदान दिए। नरेन्द्र सञ्जाल र दीपेन्द्र यादव समान ५-५ रनमा नटआउट रहे। रवीन्द्रजंग शाही र राजप्रसाद शाह समान १-१ रन बनाएर आउट भए । ओपनर अदित्यविक्रम शाह र अरुण ऐरी शून्य रनमै पेभिलियन फर्किए।

लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। अजयकुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए। मोहम्मद हुसेन र सन्देश थापाले १–१ विकेट लिए। आइतबारको खेलमा हिमाल फ्रेन्ड्सका दीपक रोकाया र लुम्बिनीका एकलाख अहमेद प्लेयर अफ द म्याच बने। उनीहरुले ५-५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए।

हिमाल फ्रेन्ड्स ३ खेलबाट २ जितसहित ५ अंक बनाएर शीर्ष स्थानमा रहृयो। लुम्बिनी २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो, कर्णाली ३ खेलमा १ जित र १ हारसहित तेस्रो बने । प्रथम संस्करणको विजेता मधेश प्रदेश ३ खेलमै पराजित हुँदै अंकतालिकाको पुछारमा रहृयो।

प्रतियोगितामा समूह ‘ए’ बाट काठमाडौं र समूह ‘बी’बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगितामा सोमबारदेखि समूह ‘डी’ का खेल सुरू हुनेछन्। सोमबार सुन्दरहरैंचा क्रिकेट क्लब र अत्तरिया क्रिकेट क्लब, मालपोखरी क्रिकेट क्लब र होराइजोन क्रिकेट क्लब खेल्नेछन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको फाइनल वैशाख ५ मा हुनेछ। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

कमेन्ट गर्नुहोस्
Share: