पोखरा उपमहानगरपालिकाको वार्षिक प्रगति समिक्षा , ५५ योजना सम्पन्न भएनन्, नगरबासीको चासो घट्यो

Share:

रञ्जन अधिकारी पोखरा, १० भदौ / पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा कम योजनाहरु सम्पन्न गरेको छ । दुई सय ७५ योजनाहरुमा दुई सय २० मात्रै सम्पन्न हुन सके । ५५ योजनाहरु सम्पन्न हुन सकेनन् । अघिल्लो वर्ष २०७०÷७१ मा तीन सय ६६ योजना अघि बढेकोमा दुई सय ९८ योजना सम्पन्न भएका थिए । अघिल्लो वर्षको तुलनमा योजनाहरु पनि कम हो । भुकम्पका साथै गाविसहरु गाभिने प्रक्रियाले केहि अवरोध गरेको नगरपालिकाले जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१÷७२ लाई समष्टिगत रुपमा सन्तोषजनक मानेको छ ।

पोखरा उपमहानगरपालिकाले विहीबार आयोजना गरेको आर्थिक वर्ष २०७१÷७२ मा सम्पन्न योजना तथा विकास निर्माण कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रममा विभागीय प्रमुखहरुले विभाग अन्तर्गत भएका कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए ।

कर अधिकृत शिवहरि शर्माका अनुसार वर्षभर कुल आय ६१ करोड ११ लाख ३२ हजार रहेको छ । यसमा आन्तरिक आय ३२ करोड ४६ लाख ६५ हजार रहेको छ । जसमा स्थानीय करबाट नौ करोड ७२ लाख २१ हजार र अन्य श्रोतबाट सात करोड ९४ लाख ८४ हजार संकलन भएको हो । बाह्य श्रोत अनुदान तथा ऋण गरी २८ करोड ६४ लाख ६७ हजार रहेको उनले जनाए ।

२०७१÷७२ मा ५२ करोड २३ लाख कूल खर्च रहेको छ । यसमा चालुतर्फ १२ करोड ५६ लाख तथा पूँजीगत तर्फ ३९ करोड ६६ लाख रहेको छ । थपिएका १० वडाबाट एक करोड २६ लाख राजस्व संकलन भएको उनले जानकारी दिए । शर्माका अनुसार पोखरा सभागृह वर्षभर चार सय २८ पटक बुकिङ भए । घरजग्गा कर तिर्नेहरु जम्मा १५ हजार नौ सय ७९ मात्रै छन् ।

पूर्वाधार तथा संरचना विकास समिति विभाग प्रमुख ई. शारदामोहन काफ्लेले सपिङ कम्प्लेक्स निर्माण, मर्मत विशेष कार्यक्रम, आवधिक योजना निर्माण, सौर्य सडकबत्ती तथा फेवाताल संरक्षण विशेष कार्यक्रममा जोड दिईएको बताए ।

विभिन्न योजना शिर्षकमा दुई सय ९३ कार्यक्रम रहेकोमा ६८ प्रतिशत मात्रै सम्पन्न भएको जनसंख्या तथा सामाजिक विकास विभाग प्रमुख ओमराज पौडेलले जनाए । उनले सन् २०१७ सम्ममा बालमैत्री नगर बनाउने अभियानलाई सार्थकता लिन लागिपरेको बताए । गाभिएको १० गाविससहित हाल नगरभित्र २८ वडा रहेको र यहाँ तीन सय ६९ टोल विकास संस्था गठन भएको जानकारी दिँदै उनले नौ विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध स्थापित भएको जनाए । धरान र भरतपुरसँगै जापान, चीन, टर्की र दक्षिण कोरियाका विभिन्न शहरसँग सम्बन्ध स्थापित भएको र पाईपलाईनमा अमेरिका, अष्ट्रेलिया, भियतनाम र पोर्चुगलका शहरहरु रहेको उल्लेख गरे

संगठन तथा प्रशासन समिति विभागका प्रमुख अनन्तप्रसाद कोईरालाले प्रशासनबाट भएका पञ्जिकरण दर्ताहरुका बारेमा जानकारी गराए । ९ कर्मचारीहरुलाई विभागीय कारबाही गरिएको, एक जना अख्तियारले समात्दा निलम्बनमा रहेको र गयलकट्टा मार्फत एक लाख सात हजार रुपैंया संकलन भएको उनले जनाए ।

भूमि तथा जलश्रोत विकास समिति संयोजक एवं कानुनी अधिकृत नारायणप्रसाद शर्माले प्राकृतिक सम्पदाहरुको संरक्षण, सार्वजनिक जग्गा पहिचान, खानेपानी मुहान संरक्षणमा काम गरेको बताउँदै सार्वजनिक जग्गा तथा प्राकृतिक सम्पदाहरु संरक्षण गर्ने कार्य चुनौतिपूर्ण रहेको, समयमा योजनाहरुको सम्झौता गर्न नआउने, पर्याप्त बजेटको अभाव रहेको जनाए ।

कृषि, बन तथा वातावरण समितिका संयोजक निर्मलमानसिंह भण्डारीले पोखराका विभिन्न कृषि कार्यक्रम लागू भएको जनाउँदै कृषकहरुलाई विभिन्न खेती गर्ने तालिम, वृक्षारोपण कार्यक्रम, छाडा चौपाया तथा भुस्याहा कुकुर नियन्त्रण, विद्युतीय पोलहरुमा वातावरणीय नारा लेखन, विद्यालय स्तरीय वातावरणीय शिक्षा कार्यक्रम लगायतका कार्यहरु भएको जानकारी दिए ।

ल्याण्डफिल साईडका बारेमा जानकारी दिँदै ई. नेत्रप्रसाद तिमिल्सिनाले गत वर्ष १ जार सात सय ६९ बढि टन फोहोर व्यवस्थापन गरिएको र हाल चौथो तहमा फोहोर व्यवस्थापन भईरहेको जानकारी दिए । उनले गाभिएका नयाँ १० वडाहरुमा दिगो शहरी फोहोरमैला व्यवस्थापन अभिमुखीकरण तालिम गरिएको जनाए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएका मुल्यांकन तथा अनुगमन अधिकृत हरिप्रसाद न्यौपानेले वातावरण मैत्री स्थानीय शासन अन्तर्गत एक करोड दुई लाख खर्च भएको जनाए ।

समिक्षा कार्यक्रममा सहभागीहरुले आमनागरिकको सेवामा समय सापेक्ष नगरपालिका गम्भिर भएर लाग्नुको बिकल्प नभएको स्पष्ट पार्दै नगरपालिकाको सुस्त कार्यप्रति आलोचना गरेका थिए । कार्यक्रममा राजनैतिक दलका नगरस्तरीय प्रतिनिधिहरु, वडा समन्वय समितिका अध्यक्षहरु, नागरिक समाजका प्रतिनिधि लगायतले नगरपालिकाको कामकारबाही बारे जिज्ञासा तथा सुझाव राखेका थिए । गोनेसा महासचिव रामप्रसाद सुवेदी, पोखरा वडा नं. १५ समन्वय समितिका प्रकाश पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानाले समीक्षा गोष्ठीमा सहभागीहरुबाट आएका अमूल्य जिज्ञासा र सुझावलाई मनन गरेर अघि बढ्ने बताए । उनले नगरपालिकाका कामहरु क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । पछिल्ला वर्षहरुमा नगरपालिकाको समिक्षा गोष्ठीमा नगरबासीले कम चासो दिने गरेको पाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: