एनटिभिए गण्डकीको टेबुल क्यालेन्डर लोकार्पण

Share:

पोखरा । पोखरा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ।

प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्वअध्यक्ष बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गरेका थिए।

पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए।

पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार विमा कम्पनीले नै जिम्मा लिने गरी नेपाल सरकारले नियम बनाएर व्यवसायिक सुरक्षाको प्रत्याभुति गराउनु आवश्यक भएको उनको भनाइ छ।

व्यवसायिक सुरक्षाका लागि भलाई कोषको स्थापना गरि अघि बढ्नुपर्नेमा उनले जोड दिए। इम्बोइष्ड नम्बरका नाममा हरियो प्लेटको पहिचान हराउन नहुने भन्दै उनले यसका लागि निरन्तर पहल भइरहेको बताए।

एनटिभिए गण्डकी अध्यक्ष दहालले पर्यटन यातायात सञ्चालन गरिहेको व्यवसायीलाई संगठित गर्दै एनटिभिए बढीरहेको बताए। दररेट समेत राखेर संस्थाले टेबुल क्यालेन्डर प्रकाशन गरेको बताउँदै उनले यसले व्यवसायिक रुपमा पनि सहज बनाउने विश्वास व्यक्त गरे।

पूर्वअध्यक्ष एवम् सल्लाहकार गुरुङले निजी र पर्यटक सवारी साधनको आयु २० वर्ष तोकिनु खेदप्रद भएको बताउँदै यी सवारी साधनको आयु तोक्नु गलत भएको जनाए।

सवारी दुर्घटना, घाइते, मृतक, सवारी मर्मत सबै जिम्मा बीमा कम्पनीले लिनुपर्ने गरी सरकारसँग लबिङ हुनुपर्नेमा उनले जोड दिए। एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्यायले पर्यावरण जोगाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको धारणा राखे। अध्यक्ष दाहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: