शिक्षक आन्दोलनको फरक दृष्य : नाराबाजी, नाचगान र जादु छोडेर रक्तदान

Share:

काठमाडौँ। चैत २० गतेदेखि शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन्। उनीहरुले विहीबार बिहान बबरमहल-नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन्।

यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने, सडकमै नाचगान गर्ने, भजन गाउने, जादु देखाउने गर्दै आएका थिए। तर, आज भने रक्तदान कार्यक्रम गरेका हुन्।

शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन्। शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन्।

उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन। आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्‍याइएको छ।

गतचैतमा भएको एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ।

यता, नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्।

सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्, ‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ।’

सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: