
काठमाडौँ । इलाममा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठी सासू (पत्नीकी दिदी) को हत्या गरेका छन्। माई नगरपालिका-४, सिञ्जालीटारका ४२ वर्षे शान्तिराम दुलालले त्यही ठेगानाकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेका हुन्।
साँझ ७ बजेतिर टाउकामा हतियार प्रहार गरिएकामा राति १०:२० बजेतिर उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते चापागाईंको उपचार माई नगरमा हुन नसकेपछि झापाको बिएन्डसी अस्पताल लगिएकामा अस्पतालमै उनको मृत्यु भएको हो।
शान्तिराम र उनकी श्रीमतीको मानाचामल मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयले जनाएका छन्।
विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन्। शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
