एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीका १६ निर्देशन

342
0
Share:

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन्। शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रूपमा आलोचना गर्न निर्देशन दिए। आज कुनै विषयमा कसैले गलत ढङ्गले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उनले तत्कालीन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्त्व नहुने बताए।

अध्यक्ष ओलीले सांसदहरूले संसद्मा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्ब हुने गरी साहसिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए। लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भए पनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उनको भनाइ छ।

यस्ता छन् अध्यक्ष ओलीले सांसदहरूलाई दिएका निर्देशनहरू :

१. सबै माननीयहरूले दस्ताबेजहरू राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्ताबेजहरूसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।

२. तत्कालीन समस्याहरूलाई संसद्मा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।

२. देश विकासका तथा सुशासनका प्रश्नहरूमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने ।

३.बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।

४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसद्मा निर्भीक रूपमा समयमै आवाज उठाउने ।

५.समाजका सांस्कृतिक मूल्यहरू चाडपर्व, रीति,थितिहरूलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरूको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।

६. जनताका आवाजहरू प्रतिविम्ब हुने गरी अर्थपूर्ण रूपमा मर्यादित र सभ्य भएर तथ्यपरक रूपमा साहसिक ढङ्गले संसद्मा प्रस्तुत हुने ।

७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरूलाई तिखो ढङ्गले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरूक बनाउने ।

८. पार्टीको विरुद्धमा कसैले गलत ढङ्गले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रूपमा गर्ने ।

९. संसद्को आकस्मिक समयमा अरूलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालीन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।

१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भए पनि सम्मान गर्ने, सङ्कीर्ण सोचाइ नराख्ने ।

११.कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।

१२.नेपाल महान् देश हो भन्ने भावनालाई आत्मसात् गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।

१३.समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।

१४. गलत ढङ्गका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमा समेत असर पर्ने भएकाले सही विधेयकहरू ठिक ढङ्गले पारित गर्ने वातावरण बनाउने, गलत विधेयक पारित नगराउन भूमिका खेल्ने ।

१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरूप आफूलाई सजग गराउने ।

१६.आत्मविश्वास, पूर्व तयारी र एमालेपनका साथ संसद्मा प्रस्तुतीकरण दिने ।

कमेन्ट गर्नुहोस्
Share: