
पोखरा १४ भाद्र ।।
मगर समुदाय तथा मगरात भूमिलाई प्रदेश सिमांकनका क्रममा टुक्रा टुक्रा पारिएको भन्दै मगरहरू आन्दोलित भएका छन् । आन्दोलनका क्रममा मगर समुदायले सोमबार मगरात प्रदेश बन्द गराएका छन् । मगर समुदायले आह्वान गरेको बन्दका कारणले देशका विभिन्न भागको जनजीवन कष्टकर बनेको छ । बन्दको प्रभाव पोखरामा नपरेपनि पोखराबाट छुट्ने लामो दुरीका सवारीसाधन भने सञ्चालनमा आएनन् ।
यसै क्रममा मगर समुदाय तथा मगरात भूमिलाई प्रदेश सिमांकनका क्रममा टुक्रा टुक्रा पारिएको भन्दै मगरहरू आन्दोलित भएपछि कास्की लगायतका तमुहरुले पनि मगरात प्रदेशको माग गर्दै मगर समुदायले ऐकेबद्धता जनाएको छ । ऐकेबद्धता जनाउँदै तमुवान संयुक्त संघर्ष समितिले पोखराको लखनचोकमा बृहत भेलाको आयोजना गरेको छ ।
भेलामा बोल्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले सदियौँदेखिको इतिहास बोकेको मगरहरुको पहिचानलाई छिन्नभिन्न पार्नका लागि मगरात प्रदेशलाई टुक्रा पारिएको आरोप लगाए । प्रस्तावित मगरात ठाउँहरुमा आफूहरुको बन्दको समर्थन रहेको उनको भनाई छ । बन्दको विकल्पमा अरु उपाए खोज्नुपर्ने सुझाव आइरहेको बताउँदै थापा मगरले बन्दको अर्को विकल्प भनेको विद्रोह मात्र भएको चेतावनी दिए । पहिचानका आधारमा जनजातिहरुले जातीय राज्यको माग गरेका छन् भन्ने गलत प्रचार भइरहेको भन्दै उनले भने – ‘पहिचान भनेको हाम्रो जात मात्र होइन, हामीले पनि पहिचान भनेर सदियौंदेखि आदिवासीको रुपमा रहदै आएको मगरहरुलाई अधिकार दिउँ र उनीहरुलाई राज्यको कुनै पनि अधिकारबाट बञ्चित नगरौँ ।’अहिलेको आफुरुहरुको माग भनेको जातीय संरचनाको आधारमा हरेक ठाउँमा आदिवासी जनजातिको प्रतिनिधित्व हुनुपर्ने, धर्म निरपेक्षता हुनुपर्ने आदिवासी जनजातिका लागि छुट्टै आयोग गठन गरिनुपर्ने लगायत रहेको र यस बारेमा दलका नेताहरुसंग छलफल गरिरहेको थापाले कार्यक्रममा बताएका थिए ।
उनले मगरातलाई खण्डित गर्न नपाइने भन्दै अबको संविधान मगर लगायतका आदिवासीको हक अधिकारलाई कण्ठित गरेर जारी गरिए सम्पूर्ण आदिवासीलाई सडकमा उतार्ने समेत उनले चेतानी दिएका छन् ।
संयुक्त मगर मञ्च नेपालका संयोजक लोक बहादुर थापाले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गरिनु एउटा नाटक मात्र भएको आरोप लगाए । ‘पहिले सुझाव संकलनको नाममा नाटक गरियो, अहिले छोटो बाटोबाट संविधान निमार्णको कामलाई निरन्तरता दिइएको छ ।’ मगरले भने – ‘यो त पश्चगामी संविधान हो, जसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न ।’
त्यस्तै कार्यक्रममा वरिष्ठ अधिवत्ता सुरेन्द्र थापा मगरले कैलालीको टिकापुरमा भएको घटना निकै दुखद भएको भन्दै त्यसको जिम्मेवार राज्यले लिनुपर्ने बताए । आफहरु सदियौदेखि नै हेपिदै आएको र त्यसमा थारु समुदाय पनि परेकाले थारु समुदायहरुको आन्दोलनमा पनि आफुहरुको ऐकेबद्धता रहेको उनको भनाई छ ।
अधिकारकर्मी सुन्दर तमुले अहिलेको संविधान निमार्णको क्रममा मगर र थारुलाई जानी–जानी हेपाहा प्रवृद्धिले अधिकारविहीन बनाउन खोजिएको आरोप लगाए । अबको क्रममा मगर र गुरुङ्ग दुवै आदिवासी भएकाले दुवैको आन्दोलनका एकअर्काको साथ रहेने प्रतिबद्धता समेत गुरुङ्गले जनाएका छन् ।
त्यस्तै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल तमुवान् प्रादेशिक समितिका प्रवत्ता दिपक तामाङ्गले मगर जस्तै अरु पनि आदिवासीहरु नेपालमा सदियौदेखि हेपिएर बसेकाले सबै जनजातिाके आन्दोलनमा आफुहरुको पनि समर्थन रहेको बताए ।
आदिवासी जनजाति महासंघका संस्थापक सदस्य गणेशमान तमुले कैलालीको टिकापुरमा भएको घटनाको सत्यतथ्य छानविन गरेर राज्यले त्यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा मगरात मृक्ति मोर्चाका केन्द्रीय महासचिव बालकृष्ण काउछा मगर, नेपाल मगर संघका केन्द्रीय महासचिव नविन रोका मगर लगायतले बोल्दै मगर लगायत आदिवासी जनजातिको हकअधिकार अहिलेको संविधानमा पनि सुनिश्चित नगरिए आफूहरु बाध्य भएर कडा आन्दोलनमा जानुपर्ने र आफ्नो ज्यान समेत दिनुपर्नेमा पछि नहट्ने चेतावनी दिएका छन् ।
तमुवान् संयुक्त संघर्ष समिति भेला आयोजक समितिका सचिव हुम तमुले सञ्चालन गरेको भेलामा विभिन्न आदिवासी जनजातिहरुले आ–आफ्नो भेषभुषा सहित सहभागिता जनाएका थिए ।
