
पोखरा । पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई स्व. गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्व. पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा शुक्रबार पुरस्कार प्रदान गरेका हुन्। पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कारको राशि २५ हजार एक रुपैयाँ रहेको छ।
पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका पुर्वअध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन्।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्वअध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन्। पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रीय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन्।
स्व. गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज, राष्ट्र र लोकतन्त्रप्रति योगदान पुर्याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ।
