‘लोडसेडिङको धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई ?’

335
0
Share:

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले विनाजानकारी लोडसेडिङ भइरहेको भन्दै धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि विद्युत् प्राधिकरणका नयाँ एमडीलाई दिने भनेर प्रश्न गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले सरकारले वेला न कुवेला बत्ती निभाएर देशलाई डार्कमोडमा पुर्‍याएको आरोप लगाए। उनले डार्कमोडलाई सेटिङ चेन्ज गरेर लाइटमोडमा देश लैजान आग्रह गरे।

संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौँ र झ्याप्प बत्ती जान्छ, संसदमा त इन्भर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न। तर, आमनागरिकको घरमा यस्तो विशेष सुविधा छ र ? भन्दै प्रश्न गरे।

उनले भने, ‘बत्ती जानासाथ खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार। हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला। वेलावेला झ्याप्पझ्याप्प लाइट जानु नयाँ दैनिकी बनिसकेको छ।’

‘धेरै हावा चल्यो, बिजुली जान्छ, पानी पर्‍यो बिजुली जान्छ। अहिले त न हावा न पानी तैपनि झ्याप्प बिजुली जान्छ। अब धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई दिने हो सरकारले स्पष्ट पारिदिनुपर्‍यो,’ उनले भने।

बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने जनताले ‘सरकारको बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा छैन भन्दै उनले अन्धकारमा सरकारको अनुहार झल्झली याद गरिरहेका जनताले ८४ मा बिजुली बाल्दा पनि नदेखिएला भने। यो विषयलाई गम्भीर रूपमा लिन उनले सरकारलाई आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: