कुमुदिनी होम्सले ग्रामिण क्षेत्रका दुई विद्यालयलाई दियो ४३ हजारको पोशाक र खाजा खर्च

Share:

पोखरा । पोखरा महमनगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शैक्षिक सत्रको अवसरमा पोशाक तथा खाजा खर्च सहयोग गरेको छ।

विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै विगत १२ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १९ पुरञ्चौरमा रहेको हिमालयन प्रावि तथा माछापुच्छ्रे गाउँपालिका खादरजुङमा रहेको बाराही प्राविका लागि ४३ हजार बराबरको पोशाक उपलब्ध गराएको हो।

आईतबार विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष अशोक पालिखेले उक्त सामग्री हिमालयन प्राविका प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराही प्राविका प्रधानाध्यापक राम आचार्यलाई हस्तान्तरण गरे।

कुमुदिनीका अध्यक्ष पालिखेका अनुसार विगतमा दुवै विद्यालयको अवस्था दयनीय रहेको थियो ।

उनले भने,  “ विद्यार्थी नपाएर विद्यालय नै नरहने स्थितिलाई मध्यनजर गर्दै विद्यार्थीका लागि वर्षभरि पुग्ने कापी, कलम, खाजा खर्च तथा विद्यालय पोशाक उपलव्ध गराउँदै आएका छौं।”

उनले लोटस फाउण्डेसन जर्मनीका रेनर कुबेराको सहयोगमा निरन्तर सहयोग गर्दै आएको बताए।

पालिखेले विद्यार्थीलाई सानैबाट सहयोगीको भावना जागृत गराउँदै उनीहरुले पनि अभिभावकलाई भनेर १ देखि १० कक्षाका विद्यार्थीले कापी, कलम लगायतका शेैक्षिक सामग्री वितरण गर्दै आएको बताए।

झोलुङ्गे पुलबाट जान असहज भएको देखेपछि हिमालयन प्राविका लागि ट्रष्टको पुल बनाईदिएको, शौचालय निर्माण तथा फर्निचर सहयोग गर्दै आएको सुनाए।

अध्यक्ष पालिखेले हिमालयन प्राविका २३ विद्यार्थीका लागि १५ हजार र बाराहीका लागि २८ हजार गरी ४३ हजारको विद्यालय पोशाक सहयोग गरेको बताए। साथै उनले यसवर्षका लागि हिमालयनलाई खाजा खर्चका लागि रुपैयाँ ४० हजार तथा बाराहीका लागि रुपैयाँ ८० हजार सहयोग गरिएको बताए।

सहयोग पाएपछि हिमालयन प्राविका प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराहीका राम आचार्यले कुमुदिनी होम्स परिवार, अध्यक्ष अशोक पालिखेको सहयोगको जति प्रसंशा गरेपनि नसकिने बताए।

पालिखेकै कारण विद्यालय यहाँसम्म पुगेको बताउँदै यो गुणलाई कहिल्यै तिर्न नसकिने समेत उनीहरुको भनाइ छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ र विद्यालय बचाउनुपर्छ भन्ने पालिखे सरको अग्रसरताले हामीलाई पनि प्रेरणा मिलेको बताए। आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: