पाेखरामा अन्तर वडास्तरीय फुटबल हुँदै, विजेताले १ लाखभन्दा बढी रुपैयाँ पाउने

Share:

पोखरा। जेठ दोस्रो सातादेखि पोखरामा ३५ वर्षमाथि उमेर समूहको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता-०८२ हुने भएको छ। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरा महानगरपालिका-२५ हेम्जास्थित हेम्जा युनाइटेडको आयोजना, पोखरा महानगरपालिका-२५ कार्यालयको संरक्षण, जिल्ला खेलकुद विकास समिति कास्की, गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघको विशेष सहयोगमा १० देखि १७ जेठसम्म प्रतियोगिता हुने भएको हो।

खेलकुदको माध्यमबाट एकता भाइचारा बढाउने, युवालाई खेलकुदका मध्यमबाट स्वास्थ्य राख्ने साथै, पोखरा-२५ स्थित गौरीशंकर खेल मैदान (गैरी) लाई स्तरोन्नति र संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेताले एक लाख ११ हजार १ सय ११, दोस्रोले ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई दुई हजार नगद साथमा ट्रफी पुरस्कार दिने श्रेष्ठले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: