पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसेमा

Share:

पोखरा। कास्की प्रहरीले पहिलोपटक सोमबार प्याराग्लाइडिङ पाइलटहरुले उडानअघि मादक पदार्थ सेवन (मापसे) गरे/नगरेको परीक्षण गरेको छ। पोखराको पर्यटकीय आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ पाइलटहरुले मापसे र लागूपदार्थ सेवन (मापसे) गरी उडान गर्ने गरेको सूचनापछि प्रहरीले प्याराग्लाइडिङ उडानस्थल पोखरा-२४ मान्द्रेढुँगामा गएर उडानको तयारीमा रहेका ३९ जना पाइलटहरुको जाँच गरेको हो।

परीक्षणका क्रममा एक जनाले मापसे र लापसे दुवै गरेर उडान भर्ने तयारी गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए। उनले मापसे गर्ने प्याराग्लाइडिङ पाइलट विशाल बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिइएको र कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको बताए।

“प्याराग्लाइडिङ पोखरामा पर्यटकको रोजाईमा पर्ने गरेको छ। यस क्षेत्रलाई सुरक्षित र मर्यादित गर्ने उद्धेश्यले पाइलटको मापसे जाँच गरेका हौँ,” प्रहरी उपरीक्षक ओलीयाले भने। प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले प्रहरीले गरेको कार्यले यस क्षेत्रलाई थप सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुगेको बताए। यसबाट पाइलटहरुलाई आप्नो पेशाप्रति थप जिम्मेवार बनाएको उनको भनाइ छ।

“नागरिक उड्डयन प्राधिकरणले समेत बेला बेलामा पाइलटको मापसे र लापसे परीक्षण गर्ने गरेको थियो। तर आज प्रहरी आएर पहिलो पटक परीक्षणसँगै सुरक्षाका लागि अपनाउनु पर्ने विषयमा पाईलटहरुलाई जानकारी दिएकाले यस्ले आफनो पेशाप्रति पाईलटहरुलाई अझ जिम्मेबार बनाएको छ,” केसीले भने।

पोखरामा हाल दुई सय ७० प्याराग्लाइडिङ पाइलट रहेका छन्। देशको पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकहरुले साहसिक प्याराग्लाइडिङमा रमाउने गरेका छन्। पोखरा सराङकोटबाट उडान भरेर फेवाताल किनारमा अवतरण गर्ने गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: