पोखरामा जारी यु-१६ गण्डकी छनौंटको फाइनलमा कास्की र नवलपुर भिड्ने

Share:

पोखरा । पोखरामा जारी यु-१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली कास्की र नवलपुर भिड्ने भएका छन् । आइतबार भएको ग्रुप ‘बी’ तर्फको अन्तिम खेलमा स्याङ्जासँग पराजित भएपनि नेट रन रेटका आधारमा नवलपुरले फाइनलमा स्थान बनाउँदै कास्कीसँगको भिडन्त तय गरेको हो ।

समुहमा रहेका तीनवटै समुहले एक एक खेल जित्दै समान २ अंक जोडेपनि रनरेटका आधारमा नवलपुर शिर्षस्थान कायम गर्यो । पर्वत दोश्रो तथा स्याङजा तेश्रो स्थानमा रह्यो । कास्कीले यसअघि नै ग्रुप ‘ए’ बाट फाइनलमा स्थान सुरक्षित पारिसकेको थियो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नवलपुरले निर्धारित ३५ ओभरको खेलमा ३१.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा स्याङजाले २ बल बाँकी छँदा ६ विकेटको नोक्सानीमा विजयी लक्ष्य प्राप्त गर्यो ।

स्याङजालाई जित दिलाउन प्लेयर अफ द म्याच किरण गैह्रेले महत्वपूर्ण पारी खेले । ब्याटिङतर्फ १७ बलमा २५ रन जोडेका उनले बलिङतर्फ पनि ५ ओभरको आफ्नों स्पेलमा २९ रन खर्चिएर २ विकेट लिए । त्यस्तै, स्याङ्जाका ब्याटरहरु भुवन भट्टराईले ३१ रन आयुष भट्टराईले १६ रनको योगदान दिए ।

नवलपुरको ब्याटिङमा समिर न्यौपानेले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, जितेन्द्र पुनले ३० तथा हिमाल बिकले २३ रनको पारी खेले । स्याङजाका बलरहरु प्रकास कँडेलले ३ तथा किरण गैह्रे, आयुष भट्टराई र अभिषेक भट्टराईले समान २ विकेट लिए ।

तनहुँका शैलेश काफ्लेले ३ विकेट लिएका थिए भने हिमाल विक र सुजन अर्यालले एक एक विकेट बाँडेका थिए । आइतबारको प्रतिस्पर्धामा प्लेयर अफ द म्याच बनेका स्याङजाका किरण गैह्रेलाई आयोजक गण्डकी प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रकास पौडेलले पुरस्कृत गरेका थिए । प्रतियोगिताको फाइलन खेल सोमबार हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: