
पोखरा । पोखरा महानगरपालिका-१६ ले वडाका दलित समुदायका युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम सुरु गरेको छ। प्रविधिको बढ्दो प्रयोगलाई आत्मसाथ गर्दै सुरु गरिएको उक्त तालिममा वडाका करिब २७ जना युवा–युवतीको सहभागिता रहेको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिइन्।
महानगरपालिकाको आर्थिक सहयोगमा एक महिनासम्म सञ्चालन हुने तालिमको उद्घाटन बुधबार वडा नं. १६ का पूर्व वडाध्यक्ष दानबहादुर वानियाँले गरे। उद्घाटन समारोहमा बोल्दै वानियाँले युवाहरूलाई स्वरोजगार बनाउने उत्कृष्ट माध्यमको रूपमा डिजिटल मार्केटिङ रहेको उल्लेख गर्दै, प्रविधिप्रति रुचि राख्न सुझाव दिए।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले दक्ष युवाशक्ति विदेशिनु उचित नभएको बताउँदै डिजिटल मार्केटिङमार्फत स्वदेशमै स्वरोजगार सिर्जना गर्न सकिने स्पष्ट पारे।
सो अवसरमा वडा सदस्य राजकुमारी वानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, एकल महिला समूहकी अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लबका अध्यक्ष मिनबहादुर गुरुङ, पत्रकार प्रकाश अधिकारी तथा क्लाउड टेक आईटी सोलुसनका किरण रेग्मीलगायतले तालिम लिएर मात्र नभई सिकेका सीपलाई व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन वडा सदस्य मञ्जु नेपालीले गरेकी थिइन्। तालिममा सहभागी युवालाई क्लाउड टेक आईटी सोलुसनले तालिम सहजीकरण गर्ने जनाएको छ।
