
पोखरा। निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय शिक्षकलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ।
तालिम जेठ १५ गतेदेखि पोखराका तीन स्थानमा-शितलादेवी पार्टी प्यालेस चापापानीमा अङ्ग्रेजी, एस।आर।केसी क्याटरिङ माटेपानीमा गणित तथा विज्ञान, र साइमन पार्टी प्यालेस सृजनाचोकमा नेपाली तथा सामाजिक विषयका शिक्षकहरूका लागि सञ्चालन गरिएको हो।
दशवटा हलहरूमा एकैपटक सुरु गरिएको यो तालिम सुव्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। तालिममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ विश्वविद्यालय, र राष्ट्रिय परीक्षा बोर्डका विषय विज्ञहरूको सहजीकरण रहेको छ। तालिमलाई अझ प्रभावकारी बनाउन प्याब्सन कास्कीले विषयगत संयोजक पनि तोकेको छ। जसमा अङ्ग्रेजी-अच्युत पाण्डे, नेपाली-डिल्लीराम अर्याल, गणित-खिम गुरुब, विज्ञान-पुष्पराज पौडेल र सामाजिक-गोविन्द काफ्लेलाई तोकिएको छ।
तालिम उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्ष तथा समग्र तालिम संयोजक श्रीकृष्ण अधिकारी, र सचिव सुरेन्द्रमान सिंह भण्डारी लगायतले तालिमको उद्देश्य र महत्त्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए।
पाठ्यक्रमका उद्देश्यअनुसार ज्ञान, बोध र सिपको विकास, रुब्रिक्सको प्रयोग गरी पारदर्शी आन्तरिक मूल्याङ्कन, पोर्टफोलियो निर्माण, परियोजना कार्य र प्रयोगात्मक अभ्यास विषयगत नवीनतम शिक्षण विधिको प्रयोग,विषयअनुसार भाषिक सिप र शब्दावलीको प्रयोग, शिक्षकको पेशागत दक्षता विकासलगायतका बारेमा तालिम दिइने जनाइएको छ ।
प्याब्सन कास्कीका अध्यक्ष गौतम र संयोजक अधिकारीका अनुसार, यो तालिम शिक्षकहरूलाई प्रभावकारी शिक्षण विधि, आन्तरिक तथा बाह्य मूल्याङ्कन प्रणालीमा दक्ष बनाउने मात्र नभई, उनीहरूको पेशागत विकासमा कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गरिएको छ। यो तालिम प्याब्सन कास्कीद्वारा पहिलो पटक यति ठूलो संख्यामा शिक्षकहरूलाई लक्षित गरेर आयोजित भएको हो।
