
पोखरा । विश्वप्रसिद्ध फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुति दिने भएको छ। सन् १९५० जुन ३ मा हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेर इतिहास रचेका थिए। सोही सफलताको स्मरणमा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको हो।
१४ सदस्यीय टोली शुक्रबार पोखरा आइपुगेको छ। टोलीमा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक कलाकारहरू समावेश छन्।
टोलीको पोखरा विमानस्थलमा नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायत पर्यटन क्षेत्रका अगुवाहरूले भव्य स्वागत गरेका थिए।
टान गण्डकी अध्यक्ष आचार्यका अनुसार, अन्नपूर्ण आरोहणको हिरक जयन्ती (७५ वर्ष) को अवसरमा शुक्रबार पोखराको फेवातालस्थित वाराहीघाट र अन्नपूर्ण आधार शिविरमा फ्रान्सेली कलाकारहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।
मौरिस हर्जोग विश्वमै पहिलो व्यक्ति थिए जसले ८ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। उनले लुइस लचेनसँग मिलेर अन्नपूर्ण आरोहण गरेका थिए। यही ऐतिहासिक सफलताको सम्मानमा फ्रान्सेली कलाकार टोली अन्नपूर्णको काखमा सांगीतिक श्रद्धाञ्जली दिन गइरहेका हुन्।
