पोखरामा स्कुटर ठक्करपछि मृत्यु : सवारी ज्यान मुद्दामा चालक थुनामा

Share:

पोखरा । पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारका क्रममा निधन भएको छ।

मादी गाउँपालिका-५, सिक्लेस स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएका इच्छा क्षेत्री (वास्तविक नाम विष्णुबहादुर बुढाथोकी) लाई जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृहचोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा एक अज्ञात स्कुटरले ठक्कर दिएको थियो। ठक्कर दिएपछि स्कुटर चालक फरार भएको कास्की प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी बैदामबाट खटिएको टोलीले गम्भीर घाइते बुढाथोकीलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको थियो। तर जेठ १४ गते उपचारकै क्रममा उनको निधन भएको हो।

फरार चालक पक्राउ

प्रहरी अनुसन्धानका क्रममा फरार स्कुटर चालक काठमाडौं महानगरपालिका-२६ निवासी ३३ वर्षीय समिरराज महर्जन पक्राउ परेका छन्। उनलाई घटनाको दिनै, जेठ १४ गते, पोखरा महानगरपालिका-११ स्थित फूलवारीचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महर्जनसँगै बा.प्र.०२–००७ प २०२९ नम्बरको स्कुटर पनि बरामद गरिएको छ। पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशअनुसार थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: