
पोखरा । पोखरामा एक्सपर्ट एजुकेसन अन्तरविद्यालय छात्र टी-२० क्रिकेट च्याम्पियनसिप सुरु भएको छ। पोखरा महानगर क्रिकेट संघको आयोजनामा र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुलले वाराही माविलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।
वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा मदरल्याण्ड ९ रनले विजयी
लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा वर्षाका कारण २० को सट्टा १५ ओभरमा सिमित खेलमा वाराहीले टस जितेर फिल्डिङ रोजेपछि, मदरल्याण्डले ७ विकेटको क्षतिमा ८७ रन बनायो। मदरल्याण्डका लागि विप्लव मल्लले ३१ रन (२८ बल), अविक कर्णले १६ रन (१२ बल) र किरण पौडेलले १४ रन (१७ बल) बनाउँदै राम्रो प्रदर्शन गरे। वाराही माविका अभिषेक एडिकेले ३ ओभरमा ५ रन दिँदै २ विकेट र विजेश भट्टराईले २ ओभरमा ७ रनमा २ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।
८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाराही मावि पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ७८ रनमै रोकिएको थियो। वाराहीका अभिषेक एडिकेले २२ रन (२१ बल), विजेश भट्टराईले १७ रन (२० बल) र सुमन श्रेष्ठले ११ रन (१६ बल) बनाए पनि टिमलाई जिताउन सकेनन्। मदरल्याण्डका विप्लव मल्लले ३ ओभरमा ४ रन खर्चेर २ विकेट र किरण पौडेलले ३ ओभरमा १९ रनमा ३ विकेट लिए। प्लेयर अफ दी म्याच मदरल्याण्डका अलराउन्डर विप्लव मल्ल घोषित भए।
उद्घाटन समारोह
प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, जिल्ला स्तरीय खेलाडी प्रदीप तामाङ, मदरल्याण्डका शिक्षक विनोद तिमिल्सिना, अफिसियल अम्पायरहरू प्रदीप गुरुङ र टोपबहादुर राना, र क्यानका पिच क्युरेटर राजन कुँवरले संयुक्त रूपमा गरेका थिए। सो अवसरमा राजकुमार छन्त्यालले एक्सपर्ट एजुकेसनको तर्फबाट अफिसियलहरूलाई टिसर्ट पनि हस्तान्तरण गरे।
सहभागी टिमहरू
प्रतियोगितामा त्रिवेणी पब्लिक स्कुल, मदरल्याण्ड, वाराही, एसओएस, रत्नज्योति, डायमण्ड, प्रतिभा, जुनियर सिटिजन, कुमुदिनी होम्स, न्यू लाईट, सृजना मावि र अमरसिंह मावि गरी १२ विद्यालय सहभागी छन्।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनका अनुसार, पोखरामा क्रिकेट गतिविधि न्यून भएको भन्दै खेलको ग्राउण्ड लेभल बलियो बनाउन यो प्रतियोगिता आयोजना गरिएको हो। “कुनै पनि खेलको विकासका लागि जड मजबुत हुनुपर्छ,” उनले भने, “त्यसैले हामीले विद्यालयस्तरबाटै प्रतियोगिता सुरु गरेका हौं।”
पुरस्कार विवरण
प्लेयर अफ दी सिरिज, बेस्ट ब्याटर, बेस्ट बलरलाई रत्नश्री जिमको तर्फबाट १ महिनाको निःशुल्क जिम प्याकेज छक्का लागेको बल एक हातले समात्ने दर्शकलाई प्रत्येकपटक रु. १,००० पुरस्कार- एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजद्वारा प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुने छ।
