
पोखरा । पछिल्ला केही दिनयता सार्वजनिक यातायात व्यवसायीहरूले पोखरामा जारी राखेको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ। उक्त परिस्थितिमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आन्दोलनको बाटो परित्याग गरी वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रमुख आचार्यले प्रचलित ऐन, नियम तथा कानुनको परिधिभित्र रही छलफल र सहमति मार्फत समाधान निकाल्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा उल्लेख गरिएको छ, “पोखरा पर्यटनको राजधानी हो। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरूमा हडताल, सवारी साधनको तानातान र बेलाबेलामा देखिने अमर्यादित व्यवहारले गम्भीर असर पुर्याएको छ, जुन दुःखद विषय हो।”
आचार्यले पछिल्लो आन्दोलनले पोखराको समग्र छवि र पर्यटन व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गर्दै व्यवसायीहरूलाई जिम्मेवार र संयमित व्यवहार गर्न आह्वान गरेका छन्।
राइड सेयरिङसम्बन्धी कानुनप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक यातायात व्यवसायीहरूले गत साता देखिनै सवारी सञ्चालन बन्द गरेका छन्। त्यसको प्रत्यक्ष असर स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा पर्यटकहरूमा परेको छ।
मेयर आचार्यले सरकार व्यवसायीहरूको मागप्रति गम्भीर रहेको स्मरण गराउँदै समस्या समाधानका लागि संवाद आवश्यक रहेको बताएका छन्। “हडताल र आन्दोलनको मार्ग त्यागेर व्यवसायिक वातावरणमा फर्किनु र जनजीवनमा परेको असरप्रति गम्भीर बन्नु आजको आवश्यकता हो,” उनले उल्लेख गरेका छन्।
महानगरपालिकाले समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको समेत जानकारी दिएको छ। यसैबीच, पोखराका स्थानीय बासिन्दाहरूले सार्वजनिक सेवा नियमित सञ्चालन गर्न माग गर्दै व्यवसायीहरूलाई संयमित र जिम्मेवार बन्न अपिल गरेका छन्।
