‘शिवांश: च्याप्टर १’ को छायांकन अन्तिम चरणमा, असोज २४ गते प्रदर्शन हुने

Share:

पोखरा। डेब्यु निर्देशक सन्तोष कुमार आत्रेयको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘शिवांश: च्याप्टर १’ को छायांकन अन्तिम चरणमा पुगेको छ। चलचित्रको हालसम्म करिब ७० प्रतिशत छायांकन सकिएको निर्देशक आत्रेयले जानकारी दिएका छन्।

पोखरा वरपरका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरूमा छायांकन भइरहेको छ। झण्डै ४५ सदस्यीय छायांकन टोली यतिबेला पोखरामै व्यस्त छ। निर्देशक आत्रेयका अनुसार चलचित्रको मूल कथावस्तु भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि सान्दर्भिक हुने विषयमा आधारित छ। यद्यपि, फिल्मको विस्तृत कथा भने निर्माण पक्षले खुलाएको छैन।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपाने मुख्य भूमिकामा छन्। यस्तै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। थियटर पृष्ठभूमिका कलाकारहरूको वर्चस्व रहेको यस चलचित्रका निर्माता अञ्जान केसी हुन्। उनका अनुसार करिब ७ वर्षको अनुसन्धान र तयारीपछि फिल्म निर्माण गरिएको हो। पटकथा बारत लिम्बुले तयार पारेका छन्।

सन्तोष कुमार आत्रेयले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन्। उनले यसअघि धौली र हुक्का चलचित्रमा कथा तथा स्क्रिनप्ले लेखकको रूपमा काम गरिसकेका छन्।

फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ। गीतहरू राजनराज शिवाकोटी र विप्लव प्रतीकले लेखेका हुन् भने स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज रहनेछ। चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेम्याट्रोग्राफी रहेको छ। कार्यकारी निर्माता सम्भु थापा रहेका छन्।

करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको ‘शिवांश: च्याप्टर १’ आगामी असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको वितरणको जिम्मा डीसीएन ले लिएको छ।

कमेन्ट गर्नुहोस्
Share: