गण्डकी प्रदेशसहित आज चार प्रदेशमा वर्षाको सम्भावना

Share:

काठमाडौं । नेपाल भित्रिएको एकसाता बितिसक्न लाग्दा पनि मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। यसपालि समयअगावै भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशको अधिकांश भूभागमा मात्रै  छ। मनसुनका लागि अनुकूल वातावरण तयार नभएका कारण यो अन्य भूभागमा फैलन पाएको छैन। अन्य भूभागमा अझै स्थानीय र पश्चिमी वायुको प्रभाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत  बागमती प्रदेश,  गण्डकी प्रदेश र कर्णाली  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका  ‍एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: