
पोखरा। पोखरा महानगरपालिका-१२ स्थित अमरसिंह माध्यमिक विद्यालयमा नयाँ भवन र गेट निर्माणको कार्य सुरु गरिएको छ। सोमबार एक कार्यक्रमबीच वडाध्यक्ष सन्तोष बास्तोलाले निर्माण कार्यको शिलान्यास गरेका हुन्।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले अमरसिंह विद्यालयलाई ऐतिहासिक र शैक्षिक रूपमा अग्रणी संस्था भन्दै यसको भौतिक पूर्वाधार सुदृढीकरण अत्यावश्यक रहेको बताए। उनले भने, “गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना मजबुत हुनु जरुरी छ।”
शिलान्यास कार्यक्रममा समावेशी शिक्षा शाखाका उपमहानिर्देशक हरिप्रसाद निरौला, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक/शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
नयाँ गेट र भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप उन्नत हुने र विद्यार्थीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ। गेट निर्माणले विद्यालयको पहिचान बलियो बनाउने र शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी हुने विश्वास लिइएको छ।
वडाध्यक्ष बास्तोलाले वडा भित्रका अन्य विद्यालयमा पनि पूर्वाधार सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
