
पोखरा। फेवाताल सिमांकनसँग सम्बन्धित विवाद चुलिँदै गएको बेला होटल संघ गण्डकी प्रदेश र होटल संघ पोखराले ताल संरक्षणका लागि सरकारद्वारा चालिएको कदमको समर्थन गर्दै स्वागत गरेका छन्। संघहरूले तालको दीर्घकालीन संरक्षण पोखराको पर्यटन उद्योगको आधार भएको भन्दै सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “फेवाताल पोखराको मात्र नभई राष्ट्रकै गहना हो। पोखरामा ५ खर्ब रुपैयाँभन्दा बढीको लगानी यसै तालका कारण भएको छ, त्यसैले यसको संरक्षण अपरिहार्य छ।”
हालै सर्वोच्च अदालतको आदेशअनुसार नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्तरूपमा तालको सिमांकन कार्य अघि बढाएका छन्। सो कार्यको स्वागत गर्दै होटल संघले भनेका छन्, “फेवाताल नरहे पोखराको पर्यटन व्यवसाय नै धरासायी हुन्छ।”
तर, सिमांकनको विरोधमा आएका केही टिप्पणीप्रति संघले असन्तुष्टि जनाएको छ। पोखरा पर्यटन परिषद्ले सिमांकनका कारण पर्यटन व्यवसाय संकटमा पर्ने भन्दै दिएको विज्ञप्तिप्रति चर्को आलोचना भइरहेका बेला होटल संघले ताल संरक्षणको पक्षमा खुलेर उभिएको हो। संघले भनेको छ, “केही स्वार्थी जग्गावालाको उक्साहटमा ताल सिमांकनको विरोध हुनु दुखद हो।”
होटल संघले फेवाताल संरक्षणसँगै प्रभावित व्यवसायी, स्थानीय बासिन्दा र जग्गाधनीहरूको न्यायिक व्यवस्थापनको माग गर्दै, मुआब्जा हालको बजार मूल्यका आधारमा दिनुपर्नेमा जोड दिएको छ। “पूर्व स्वीकृत व्यवसाय विस्थापन गर्नुपरेमा पर्याप्त क्षतिपूर्ति र व्यवस्थापन हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
संघले चेतावनी दिँदै भनेको छ, “तालको संरक्षणका लागि हामी सरकारसँग छौं, तर व्यवसायीका हकहितका लागि पनि जस्तोसुकै पहल गर्न र लड्न तयार छौं।” विज्ञप्तिमा होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रे र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको संयुक्त हस्ताक्षर छ।
