लाटोकोसेरो क्लबको वातावरण संरक्षण अभियान हेमजाबाट सुरु

Share:

पोखरा । नेपालमा पहिलो पटक गठन गरिएको लाटोकोसेरो क्लबले वातावरण संरक्षणका लागि चेतनामूलक अभियानको सुरुआत पोखराको हेमजा क्षेत्रबाट गरेको छ। क्लबको नेतृत्वमा गौरीशंकर माध्यमिक विद्यालय र हेमजा बोर्डिङ स्कुलमा वृक्षारोपण, चित्रकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।

गौरीशंकर विद्यालयमा आयोजित कार्यक्रममा ५० भन्दा बढी बिरुवा रोपिएको थियो। चित्रकला प्रतियोगितामा पानीको महत्व, जैविक विविधता संरक्षण, प्लास्टिकमुक्त समाज जस्ता सन्देश झल्किने चित्रहरू प्रस्तुत गरिए। हेमजा बोर्डिङ स्कुलमा कक्षा २ देखि ९ सम्मका ३९४ विद्यार्थी सहभागी रहेको चित्रकला प्रतियोगिता सम्पन्न भयो।

कार्यक्रममा गौरीशंकर लाटोकोसेरो क्लबकी अध्यक्ष सञ्जिला सेन्चुरीले सानो प्रयासबाट पनि पृथ्वीको संरक्षण सम्भव हुने बताउँदै युवाले वातावरणीय संकट बुझ्न र समाधानको नेतृत्व लिन आवश्यक रहेको धारणा राखिन्। हेमजा बोर्डिङ क्लब अध्यक्ष सलिन गौतमले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा जैविक विविधता तथा वन्यजन्तु संरक्षणप्रतिको चेतना बढाउने बताए।

विद्यालय परिसरदेखि विष्णुपादुका माईको थान र वडा कार्यालय क्षेत्रसम्म गरिएको सरसफाइ अभियानमा विद्यार्थीहरूले “हाम्रो भविष्य, हाम्रो वातावरण” जस्ता नारासहितका प्लेकार्ड बोकेर फोहोर संकलन गरेका थिए।

गौरीशंकर विद्यालयका प्रधानाध्यापक अमरबहादुर कुँवरले वातावरणीय शिक्षालाई व्यवहारमा उतार्ने प्रयास अत्यन्त उपयोगी भएको बताउँदै कक्षा बाहिरको सिकाइले विद्यार्थीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे। हेमजा बोर्डिङ स्कुलका प्रधानाध्यापक केशवशरण पौडेलले यस्ता गतिविधिले बालबालिकामा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र वातावरणप्रतिको चेतना विकासमा सहयोग पुग्ने बताए।

यी कार्यक्रमहरू व्हिटली फन्ड फर नेचरको सहयोगमा सञ्चालित छन्, जसमा ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्य रहेको छ। क्लबहरूले आगामी तीन महिनाभित्र लाटोकोसेरो तथा वातावरणसम्बन्धी निबन्ध लेखन, हाजिरीजवाफ र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: