
पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले म्याग्दीलाई सहज रुपमा पराजित गर्दै ६ विकेटको शानदार जित हात पारेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। तर, उनीहरू १८.५ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ८८ रनमै समेटिए।
म्याग्दीका लागि रोशन कार्कीले २० बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २७ रन बनाए। त्यस्तै, दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रनको योगदान दिए। अन्य ब्याटर खासै प्रभावशाली हुन सकेनन्, जसमा ६ खेलाडीले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
स्याङ्जाका बलर करण पंगेनी र सुजन गौतमले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। पंगेनीले ४ ओभरमा १७ रन दिँदै ३ विकेट लिए भने गौतमले २.५ ओभरमा १३ रन खर्चेर ३ विकेट हात पारे। अन्य दुई बलर तुलसीराम भण्डारी र अंकित न्यौपानेले समान १–१ विकेट लिए। करण पंगेनीलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो।
८९ रनको लक्ष्य पछ्याउँदै स्याब्जाले १२.४ ओभरमा मात्र ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। स्याङ्जाका ईश्वर क्षेत्रीले १८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाए भने करण पंगेनीले ३१ बलमा नटआउट रहँदै २३ रन जोडे। अश्विनी रानाले पनि नटआउट २० रनको योगदान दिए, जसमा उनले १ चौका र २ छक्का प्रहार गरेका थिए।
म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरमा ३० रन दिँदै २ विकेट झारे। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका थिए। प्रतियोगिता दुई समूहमा विभाजित गरि सञ्चालन गरिएको छ। समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहेका छन् भने समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा समावेश छन्।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रत्येक दिन दुई खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारका दरले नगद र ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने संयोजक ऋषीराम गौतमले जानकारी दिएका छन्।
