सेवा क्षेत्रमा अग्रसर गण्डकी, आर्थिक वृद्धिमा देशभन्दा अगाडि

Share:

पोखरा । चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा माथि रहने देखिएको छ। प्रदेश सरकारअन्तर्गतको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय आर्थिक वृद्धिदर ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेशको अर्थतन्त्र ४.८८ प्रतिशतको दरले विस्तार हुने प्रक्षेपण गरिएको हो।

सर्वेक्षण अनुसार उपभोक्ता मूल्यमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) चालु आर्थिक वर्षमा करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने अनुमान छ, जुन अघिल्लो आर्थिक वर्षको संशोधित अनुमान (५ खर्ब १८ अर्ब) भन्दा उल्लेखनीय रूपले बढी हो। यससँगै प्रदेशको प्रतिव्यक्ति आय ७१ अमेरिकी डलरले वृद्धि भई १६२० डलर पुग्ने अनुमान गरिएको छ।

सेवा क्षेत्रमा उच्च योगदान, कृषि र उद्योगपछि प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा तृतीय (सेवा) क्षेत्रको योगदान सबैभन्दा धेरै ५५.८ प्रतिशत रहने देखिएको छ। प्राथमिक (कृषि) क्षेत्रको योगदान २७.८ प्रतिशत र द्वितीय (उद्योग) क्षेत्रको योगदान १६.५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्र मिलेर २७.१ प्रतिशत योगदान दिइरहेका छन्, जसमा मकै, तोरी र सुन्तला मुख्य उत्पादन हुन्।

यद्यपि, गत वर्ष फैलिएको लम्पी स्किन रोगका कारण गाईभैंसीको संख्या घट्दा दूध उत्पादनमा १.६२ प्रतिशतले गिरावट आएको तथ्यांक पनि समावेश गरिएको छ।

राजस्वमा निर्भरता र खर्चमा सुधार

सर्वेक्षणले प्रदेश सरकारले खर्च क्षमतामा सुधार ल्याएको देखाएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल विनियोजित बजेटको २८.८९ प्रतिशत खर्च भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २४.८३ प्रतिशत मात्र थियो।

प्रदेशको कुल आयमा संघ सरकारबाट प्राप्त अनुदानको हिस्सा ४७.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४३.८ प्रतिशत थियो। आन्तरिक स्रोतमा सबैभन्दा ठूलो हिस्सा सवारी साधन करबाट प्राप्त भएको छ, जसको योगदान ५३.९३ प्रतिशत रहेको छ।

पूर्वाधार र सामाजिक क्षेत्रको प्रगति

पूर्वाधार विकासमा गण्डकी प्रदेशले उल्लेखनीय प्रगति हासिल गरेको देखिएको छ। ९९.८०% घरधुरीमा विद्युत सेवा पुगेको छ भने कुल ८२१ मेगावाट जलविद्युत जडान क्षमता पुगेको जनाइएको छ । यस्तै, ९५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी पहुँच पुगेको छ । यस्तै, १०० प्रतिशत जनसंख्यामा आधारभूत सरसफाइ सेवा सुनिश्चित तथा ११९.९० किलोमिटर सडक कालोपत्रे भईसकेको बताइएको छ ।

यसैगरी आधुनिक सिँचाइ सुविधा भने २५.३५% सिँचायोग्य जमिनमा मात्र पुगेको छ । बैंकिङ, रोजगार र सामाजिक सूचकहरू बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पनि बढ्दै गएको छ। फागुन मसान्तसम्म १,४०२ शाखा कार्यालयहरू सञ्चालनमा छन् । सो अवधिमा रु. ५ खर्ब ६३ अर्ब १६ करोड निक्षेप संकलन रु. ३ खर्ब ५३ अर्ब ८३ करोड कर्जा प्रवाह बीमा क्षेत्रमा पनि उल्लेख्य प्रगति देखिएको छ । जीवन र निर्जीवन बीमाबाट प्रिमियम संकलन र दाबी भुक्तानी उल्लेखनीय रहेको छ। सामाजिक सूचकमा शिक्षा र स्वास्थ्य क्षेत्रले क्रमशः ७.९ प्रतिशत र २.४ प्रतिशत योगदान दिएका छन्।

यस्तै , गण्डकीमा जनसंख्या २४ लाख ६६ हजार ४२७ (महिला संख्या पुरुषभन्दा बढी) प्रतिपरिवार औसत सदस्य संख्याः ३.७२ रोजगारी सिर्जनाः ६८,१४९ उद्योगबाट १,३९,६८४ रोजगारी चुनौती र सुधारको आवश्यकता सर्वेक्षणले केही चुनौतीहरू पनि औंल्याएको छ।

लैंगिक उत्तरदायी तथा जलवायु सम्बन्धी बजेटमा कटौती, बेरुजुको स्थिति अझै उच्च संघीय अनुदानमाथिको निर्भरता, सिँचाइ लगायत पूर्वाधारमा लगानी अभाव, बजेट कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिको आवश्यकता रहेको छ। तथ्यांकअनुसार राष्ट्रिय आर्थिक वृद्धिदर ३.९९ प्रतिशत, गण्डकी प्रदेशको वृद्धिदर ४.८८ प्रतिशत, कुल गार्हस्थ्य उत्पादन ५ खर्ब ४८ अर्ब प्रतिव्यक्ति आय १६२० अमेरिकी डलर, सेवा क्षेत्रको योगदान ५५.८ प्रतिशत, कृषि क्षेत्रको योगदान २७.८ प्रतिशत, उद्योग क्षेत्रको योगदान १६.५ प्रतिशत, विद्युत पहुँच (घरधुरी) ९९.८ प्रतिशत खानेपानी पहुँच ९५ प्रतिशत, सरसफाइ पहुँच १०० प्रतिशत, सिँचाइ पहुँच २५.३५प्रतिशत, उद्योगको संख्या ६८ हजार १ सय ४९ छ भने रोजगारी १ लाख ३९ हजार ६ सय ८४ जनाले पाएको छ ।

गण्डकी प्रदेश आर्थिक दृष्टिले राष्ट्रिय औसतभन्दा अग्रसर देखिएको छ। यद्यपि, संघीय अनुदानमाथिको निर्भरता घटाउनु, पूर्वाधारमा लगानी बढाउनु र बजेट कार्यान्वयन सुधार गर्नु आगामी दिनका प्रमुख कार्यभार हुनेछन्।

कमेन्ट गर्नुहोस्
Share: