
पोखरा। गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) कास्की २ (क) बाट निर्वाचित भिम बहादुर कार्कीले प्रदेश सभाको शून्य समयमा बोल्दै बीमा प्रणालीमा देखिएको चरम लापरबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रदेश सभा बैठकमा सांसद कार्कीले जीवन बीमा , स्वास्थ्य बीमा र दुर्घटना बिमा सम्बन्धी सेवामा बीमा कम्पनी र सरकारकै लापरबाहीका कारण बिमित र सेवाग्राही अन्यायमा परेको आरोप लगाए।
“बीमामा तोकिएको भन्दा कम रकम उपलब्ध गराउने, दाबी प्रक्रियामा अनावश्यक ढिलाइ गर्ने र सेवाग्राहीलाई उपचारको समयमा कठिनाइ हुने जस्ता गम्भीर समस्याहरू देखिएका छन्,” कार्कीले भने।
उनले सरकार स्वयंले बिमा संस्थान तथा बिमा कम्पनीहरूलाई भुक्तानी समयमा नदिएको कारण सेवाग्राहीले औषधि खरिद र उपचारमा समेत कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै, सो समस्याको तत्काल समाधानका लागि प्रदेशसभा मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
