
पोखरा। अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्कीको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विष्णुबहादुर विकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ, जसमा ११ पूर्ण र ४ वैकल्पिक सदस्य छन्।
समितिमा उपाध्यक्षमा प्रकाश बराल, सचिवमा भागिरथ शर्मा, सहसचिवमा दीपक पौडेल तथा कोषाध्यक्षमा रिता घर्तिमगर विक चयन भएका छन्।
सदस्यहरूमा गंगाबहादुर पुन, सुष्मा थापा, नीतेश पोखरेल, दयाराम लामिछाने र सोमनाथ अधिकारी रहेका छन्। वैकल्पिक सदस्यहरूमा राजेन्द्र सुवेदी, छविलाल सुनार, खिमबहादुर घर्ती र धनराज सुनार रहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले सरकारको बजेट राष्ट्रिय अर्थतन्त्रको आधार निर्माणमा असफल भएको टिप्पणी गरे। उनले गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना जस्ता रुग्ण उद्योगहरूको पुनः सञ्चालनमा सरकारको ध्यान नपुगेको आरोप लगाए।
“सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी देखिए पनि त्यसको कार्यान्वयनका लागि स्पष्ट आधार छैन,” अध्यक्ष पौडेलले भने। उनले सहुलियत ऋण, उर्जामा पहुँच, प्रविधि हस्तान्तरणजस्ता उद्योग आवश्यक विषयमा प्रभावकारी व्यवस्था नभएको बताए।
उनले “मेड इन नेपाल, हाम्रो सान” अभियान सञ्चालन र राष्ट्रिय लगानीमा बृहत उत्पादन प्रवर्द्धन गर्न सरकारलाई आग्रह गरे। त्यस्तै, पेट्रोलियम खानी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न, भूमी बैंकसम्बन्धी नीति खारेज गर्न, साना लगानीकर्ताहरूका लागि १५ लाखसम्म बिना धितो ऋण प्रवाह गर्न तथा एक पालिका–एक उत्पादन, एक जिल्ला-एक औद्योगिक करिडोर स्थापना गर्न माग गरे।
पौडेलले उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गरी युवा पलायन रोक्न पनि सरकारलाई आग्रह गरे।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, कास्की अध्यक्ष रविमोहन ढकाल, चन्द्रबहादुर केसी, केबी थापा, तमबहादुर रोका, मेघराज ढकाल, नामबहादुर बाठामगर, डम्बर थापा, सोमनाथ अधिकारी, लक्ष्मण पुन तथा अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न समस्यामाथि धारणा राखेका थिए। भेलाले व्यापार संघ कास्कीको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ।
