
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्दै आएको एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रमअन्तर्गत ५९औं हाइकिङ पोखरा महानगरपालिका वडा नं. २३ स्थित मकानपुर गाउँमा सम्पन्न भएको छ।
जेठ महिनाको अन्तिम शनिबार सम्पन्न उक्त पदयात्रामा ४५ जना सहभागी भएका थिए। घाँटीछिनाबाट सुरु भएको यात्रा झन्डै दुई घण्टाको पैदलमार्ग पार गर्दै मकानपुर पुगेर सम्पन्न गरिएको थियो। फर्किने क्रममा सहभागीहरूले वराङस्थित मनोक्रान्ति आश्रमको अवलोकन समेत गरेका थिए।
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नारासहित सञ्चालन हुने यो कार्यक्रम ८–९ वर्षका बालबालिका देखि ७६ वर्षसम्मका सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाउने गरेका छन्। सहभागिताको खर्च आ–आफैंले व्यहोर्नुपर्ने व्यवस्था छ भने साना वालबालिकाहरूको हकमा अवस्था हेरी निःशुल्क गरिँदै आएको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले जानकारी दिइन्।
६ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हाइकिङ कार्यक्रममा विद्यार्थी, व्यापारी, गृहिणी लगायत विभिन्न पेशा व्यवसायका व्यक्तिहरू सहभागी हुँदै आएका छन्। “महिनामा एक दिन आफैँका लागि समय निकाल्ने भावना बोकेर हाइकिङमा सहभागिता जनाउने क्रम दिनप्रतिदिन बढ्दो छ,” क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए। उनी दरबारथोक मिडिया प्रालिका सञ्चालक अध्यक्ष समेत हुन्।
हाइकिङमार्फत हालसम्म हजारौं सहभागीले विभिन्न गन्तव्यको अनुभव लिइसकेका छन्। क्लबले स्याङ्जा, तनहुँ, कास्कीका विभिन्न गाउँपालिका, नगरपालिका र महानगरपालिकाका वडामा पुगेर स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा योगदान पुर्याउँदै आएको छ। यस अभियानले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पोखरालाई पर्यटनको राजधानीको रूपमा प्रवर्द्धन गर्न सघाउ पुर्याएको क्लबले जनाएको छ।
