मादी गाउँपालिकामा पहिरोको प्रकोप: घर, गोठ, पसल बग्दा दर्जनौं परिवार जोखिममा

Share:

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकामा बिहीबार रातिदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठूलो क्षति पुर्‍याएको छ। मादी वडा नं. १ को खिलाङ गाउँ र वडा नं. ६ को तप्राङ क्षेत्र पहिरोबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

वडा नं. ६ तप्राङको भेडिखर्कमा स्थानीय वीरबहादुर रानाको घर पहिरोले पूर्ण रूपमा भत्किएको छ। त्यस्तै, अन्य दुई घरसमेत बस्न अयोग्य अवस्थामा पुगेका छन्। वडाध्यक्ष दीलबहादुर क्षेत्रीका अनुसार रानाको घर भुइँदेखि नै बगिसकेको छ भने भैंसीगोठ र कुखुराको खोरसमेत नष्ट भएको छ।

सयपत्री टोलका सूर्यबहादुर थापाको घर, गोठ र किराना पसलसहितको खाजाघर पनि पहिरोले बगाएको छ। यद्यपि, मानव र पशुपंक्षीको ज्यानमा भने क्षति नभएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए। पहिरोका कारण पोखराको काहुखोलादेखि दूधपोखरीसम्मको सडक अवरुद्ध भएको छ।

यस्तै, वडा नं. १ स्थित खिलाङ गाउँमा पनि पहिरोले स्थानीय डुमप्रसाद गुरुङको गोठ पुरिँदा दुई भैंसी मरेका छन्। वडा सदस्य प्रेमबहादुर गुरुङका अनुसार करिब ३५ घर उच्च जोखिममा परेका छन्। पोखराबाट सिक्लेस जाने बाटोमा पर्ने उक्त गाउँमा करिब १५० घरधुरी छन्।

वडाध्यक्ष देवीजंग गुरुङ र वडाध्यक्ष दीलबहादुर क्षेत्रीका अनुसार पहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। प्रभावित क्षेत्रको जानकारी गाउँपालिका र प्रहरी प्रशासनलाई दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: